रघुगंगा गाउँपालिका–७,चिमखोला र ८ नम्बर वडा कुईनेमङ्गलेमा आत्मरक्षा तथा ओसिएमसी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय, ओसिएमसी बेनी अस्पताल र मिलन म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

किशोरी शिक्षा कार्यंक्रम अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि शनिबार र आइतबार रितुङ माध्यमिक विद्यालय कुईनेमङ्गले तथा अमर मावि चिमखोलाका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी विषयमा तालिम दिइएको मिलन म्याग्दीले जनाएको छ । किशोरीहरुमाथि हुन सक्ने हिंसालाई रोक्न र प्रतिकार गर्ने क्षमताको विकास गराउन तथा सचेत बनाउने उद्देश्यले आत्मरक्षाको तालिम दिइएको हो ।

आत्मरक्षा तालिमका प्रशिक्षक चन्द्रा घले गुरुङले सहभागी किशोरीहरुलाई आत्मरक्षासम्बन्धी विषयमा प्रयोगात्मक अभ्यास गराउनुभएको थियो । कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले कार्यक्रमको विषयमा जानकारीसहित उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै किशोरी तथा बालबालिकाहरुमाथि हुने हिंसाको विषयमा सहजीकरण गर्नुभएको थियो ।

यसैगरी बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)का प्रमुख डाक्टर बिराज आचार्यले ओसिएमसीबारे जानकारी दिनुभयो ।

ओसिएमसी र अस्पतालबाट भैरहेका सेवा प्रवाहको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदै मेडिकल अधिकृत डा. आचार्यले लैङ्गिक हिंसा भएको खण्डमा बेनी अस्पतालको ओसिएमसीमा आएर उपलब्ध सेवासुविधाको प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले आत्मरक्षासम्बन्धी सैद्धान्तिक विषयमा समेत सहजीकरण गर्नुभएको थियो । ७१ जना सहभागी रितुङ माविको कार्यक्रम विद्यालयको प्रधानाध्यापक खिमबहादुर छन्त्यालको अध्यक्षता, वडा सदस्य अगेन्द्र छन्त्यालको प्रमुख आतिथ्य र ओसिएमसी फोकलपर्सन पविना पूर्जाको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै चिमखोलामा ५१ जना विद्यार्थीहरुले सहभागिता जनाएको कार्यक्रम अमर माविका प्रअ पृथबहादुर थापाको अध्यक्षता, वडा सदस्य सतदेवी पुनको प्रमुख आतिथ्य र ओसिएमसी फोकलपर्सन पविना पूर्जाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply