बर्थिङ्ग सेन्टरका दक्ष प्रसुतिकर्मीहरुलाई स्तनपान तथा जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन तथा फ्लोअफसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना र युएसआईडीको आर्थिक सहयोगमा सदरमुकाम बेनीमा अभिमुखीकरण गरिएको हो ।

स्तनपान संरक्षण, प्रवद्र्धन र सहयोगसम्बन्धी बर्थिङ्ग सेन्टरका दक्ष प्रसुतिकर्मी र क्लिनीकल मेन्टरहरुको ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गर्ने, जन्मदा कम तौल भई जन्मिने शिशुहरुको उचित व्यवस्थापन तथा फ्लोअफबारे ज्ञान, सिपको अभिवृद्धि गर्ने र स्थानीय तहमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रम जस्तै बालबालिका नगद अनुदान, सुत्केरी पोषण खर्चबारे अभिमुखीकरण गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा पोषणको अवस्था र जिल्लामा पोषणका क्रियाकलाप, जन्मदा कम तौल भएका शिशुको व्यवस्थापन महत्व, फ्लोअफ र अभिलेख, स्तनपानको महत्व, जन्मदा कम तौलका शिशुको व्यवस्थापन र स्तनपान प्रवद्र्धन तथा संरक्षणबारे समूहकार्य, बच्चा जन्मिएको १ घण्टाभित्रै स्तनपान र ६ महिनासम्म पूर्ण स्तनपान गराउनको लागि दक्ष प्रसुतिकर्मीहरु र क्लिनीकल मेन्टरहरुको भूमिका, पोषण सेवाको गुणस्तर सुधारसम्बन्धी चेकलिष्टको बारेमा जानकारी र सामाजिक सुरक्षा कार्यक्रमलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

कार्यक्रमको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्साल, पब्लिक हेल्थ नर्स दुर्गा शर्मा, कोल्चेन सुपरभाइजर वीरेन्द्रकुमार चौधरी र सुआहारा कार्यक्रमको पोषण विज्ञ बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम निमित्त प्रमुख लम्सालको अध्यक्षता, पब्लिक हेल्थ नर्स शर्माको सञ्चालन र कोल्चेन सुपरभाइजर चौधरीको स्वागतमा सम्पन्न भएको थियो । म्याग्दी जिल्लामा बर्थिङ्ग सेन्टर सञ्चालित स्वास्थ्यचौकीहरुबाट २८ जनाले सहभागिता जनाएको अभिमुखीकरणमा सहभागी करुणा थापाले अनुभव सुनाउनुभएको थियो ।

Leave a Reply