भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा सडक पुगेको छ ।

धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा वडाको केन्द्र मल्कवाङ हुँदै मलम्पार गाउँ जोड्ने सडक निर्माण भएको हो ।

गतवर्ष मल्कवाङबाट दैडाँडामा पुगेको सडक यसपालि विस्तार गरेर मलम्परा पुर्‍याइएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए ।

‘मलम्पारबाट सडकलाई वडा नं ६ को बुल जोडेर चक्रपथ बनाउने काम अन्तिम चरणमा छ’, उनले भने, ‘मल्कवाङ–मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु २५ लाख र प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको छ ।’

दैडाँडाबाट चार किलोमिटर २० मिटर सडकको मार्ग खुलेको छ । विनियोजितमध्ये बाँकी रहेको अनुमानित १० लाख रुपैयाँ बजेटबाट मलम्पारबाट बुललाई सडकले जोडिने उपाध्यक्ष पुनमगरले बताए ।

करिब एक किलोमिटर मार्ग खोलेपछि धवलागिरिको ५ र ६ नं वडा जोडिने र चक्रपथ बन्ने जनाइएको छ ।

मल्कवाङबाट मलम्पारसम्मको सडकको दूरी पाँच किलोमिटरभन्दा बढी रहेको गाउँपालिकाका प्राविधिक जनक धानुकले बताए । सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारबाट वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब एक घण्टा ३० मिनेटको बाटो २० मिनेटमै छोटिएको छ ।

मलम्पारका एक सय ५० घरधुरी यो सडकबाट लाभान्वित भएका वडाध्यक्ष अमर छन्त्यालले बताए । मलम्पारका बासिन्दालाई दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न, सदरमुकाम, वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न सहज भएको छ ।

मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडीबुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।

सडकको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाध्यक्ष अमर छन्त्याल, प्राविधिक जनक धानुकलगायतको टोलीले सडकको बुधबार अनुगमन गरेको छ ।

गाउँपालिका अध्यक्ष पुनले यातायात सुविधाबाट बञ्चित बस्तीमा सडक पुर्‍याउने योजनालाई प्राथमिकता दिएको बताए ।

Leave a Reply