म्याग्दीको बेनी नगरपालिकाको वडास्तरमा भइरहेको राष्ट्रिय परिचयपत्र दर्ता शिविरमा निकै भिड छ । वडास्तरमै पुगेर सञ्चालन भइरहेको शिविरमा १८ बर्षमाथिका सबै लाइनमा बसेर सेवा लिइरहेका छन् भने केहीले नागरिकता, मतदान परिचयपत्र, राहदानी हुदाँहुदै राज्यको खर्च र झन्झटिलो काम भन्ने गरेको समेत भेटिन्छ । तर, परिचयपत्रको महत्व बुझेकाहरूले भने अन्य काम छोडेर समेत दर्ता शिविरमा पुगेका छन् । जसको उदारहण बनुभएको छ हिँडडुल गर्न नसक्ने बेनीबजारकै जेष्ठ नागरिक १ सय १ बर्षिया भद्रकुमारी श्रेष्ठ ।

उमेरले सतक नाघिसकेपनि भद्रकुमारीले छोरा कुलप्रसाद र नाती दिपेन्द्रकुमार श्रेष्ठको सहयोगमा वडा कार्यालयमै पुगेर राष्ट्रिय परिचयपत्र बनाउनुभएको छ । शाररीक रुपमा निकै कमजोर भएपनि राष्ट्रिय अभियानमा छुट्न नहुने भन्दै श्रेष्ठले वडा कार्यालयमा पुगेर सबै विवरण बुझाई राष्ट्रिय परिचयपत्र बनाउनुभएको वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताउनुभयो । ‘यूवापुस्तालाई विदेश जान चाहिने भएर र बुढापाकाले महत्वपूर्ण भएको भन्दै आउनुभएको छ’ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

उठ्ने देखी सुत्ने बेला, खाना खाने देखी शौचालयसम्म परिवारको सहयोग चाहिने भएपनि राष्ट्रिय परिचयपत्रले सामाजिक सुरक्षा भत्तादेखि विभिन्न सेवा लिन सहज हुने भएकाले दर्ता गरेको भद्रकुमारीकी छोरा कुलप्रसाद श्रेष्ठले बताउनुभयो । नगरपालिकाभित्र सबैभन्दा धेरै चाप वडा नं ७ को कार्यालयमा रहेको छ।जिल्लाका विभिन्न गाउँपालिकाबाट बेनीबजारमा बस्नेहरु समेत वडामै फर्किएर दर्ता शिविरमा सहभागी हुनभन्दा पायक पर्ने ठाउँ भएकाले आएको बताउने गरेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान गरेको अभियानमा पूर्णरुपमा अपाङ्गता भएका, जेष्ठ नागरिक तथा अन्य विभिन्न समस्या भएका, सिकिस्त बिरामी समेत वडास्तरमै सञ्चालित शिविरमा पुगेर सेवा लिइरहेका छन् ।

एक वटा वडामा दुई वटा स्टेशनमा चाप रहेको दर्ता टोलीको भनाई छ । एक वटा स्टेशनमा कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका भएकाले वडास्तरमा अहिले दर्ताका लागि आउनेको संख्या दिनप्रतिदिन बढेको छ । विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई घुम्ती टोली म्याग्दीमा छन् ।

Leave a Reply