आगामी आइतबार माघ २९ गतेदेखि मंगला गाउँपालिकाको ५ वडामा एकैपटक राष्ट्रिय परिचयपत्र दर्ता घुम्ति शिविर  सञ्चालन हुने भएको छ । बेनी नगरपालिकाको १० वडामा अभियान सम्पन्न भएपछि प्राविधिक सहितको टोली मंगलामा खटिने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बिहिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहितको टोलीसँग दर्ता शिविरको पूर्वतयारी सहित वडास्तरमा गरिने कार्यका बारेमा जानकारी गराउनुभएको छ ।

गाउँपालिकामा आयोजित अभिमुखीकरण कार्यक्रममा एक वटा वडामा दुई वटा स्टेशन हुने र कम्तिमा १५ दिन टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने समय तालिका बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो । ‘वडाका जनप्रतिनिधिलाई जानकारी भइसकेको छ,वडाबासीलाई यो अवसर नछुटाउन अपिल गछौं’ खत्रीले भन्नुभयो ।

विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई परिचालन गरिने छ । राष्ट्रिय परिचय पत्र बनाउन सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र सहित स्टेशनमा आउन गाउँपालिकाले अनुरोध गरेको छ।वडामा छुटेकाले जिल्ला प्रशासन कार्यालयमा आएर दर्ता गर्नुपर्छ ।

Leave a Reply