अमृत बास्कुने, म्याग्दी
म्याग्दीको मंगला गाउँपालिका–२ सिमलचौरका अशोक शर्मा २०७२ सालमा युरोप जाने तयारीमा हुनुहुन्थ्यो । साथीहरुसँगै राहादानी बनाएर युरोप जाने तयारी गरेका अशोकलाई साथीहरुले छोडेर गए । त्यही समयमा भुकम्प पनि आयो । भुकम्पले देशमा ल्याएको हलचल भन्दा ठुलो हलचल अशोकको मनमा आयो । जतिबेला सँगै युरोप जाने तयारी गरेका साथिहरुले छोडेर गए ।

त्यसपछि अशोकको विदेशको बाटोमात्र बदलिएन स्वदेशमा काम गर्ने गरी मन पनि बदलियो । ३६ वर्षीय अशोकले आफ्ना ३० वर्षीय भाई जीवन शर्मासँग मिलेर ‘केडी कटेज’ सुरु गर्नुभयो । २०७२ को फागुनबाट सुरु गरेको ‘केडी कटेज’ सञ्चालन र व्यवस्थापनमा अशोकका परिवारले पूर्ण साथ दिनुभएको छ ।

व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अशोक यतिबेला भाइ जीवनसँग मिलेर आफ्नै व्यवसाय व्यवस्थापनमा जुटिरहनुभएको छ । यतिबेला अशोकर र जीवनको व्यवसाय पश्चिम म्यागदीमा मात्र होइन साविक धौलागिरी अञ्चलका बागलुङ, पर्वत र मुस्ताङमा समेत परिचित हुन थालेको छ ।

३ रोपनी क्षेत्रफलमा फैलिएको अशोकको कटेजमा आफ्नै माछा पोखरी छ । आफ्नै पोखरीमा हुर्किएका माछा केडी कटेजका पाहुनाको मुख्य आकर्षण हो । एक पटकमा चार हजार भुरा हाल्ने गरेको पोखरीमा रहु, कमनकार्प, ग्रास कार्प तथा स्थानीय जातको असला माछा पनि पाइन्छन् ।

१० लाख लगानीमा शुरु गरेको व्यवसायमा अहिले डेढ करोड भन्दा बढी लगानी भएको अशोकका भाइ जीवन बताउनु हुन्छ । भौतिक पूर्वाधार निर्माण तथा प्रचारप्रसार लगायतका अन्य व्यवस्थापनमा उक्त रकम खर्चिएको उहाँको भनाई छ ।

आफ्नै कटेजको कम्पाउण्ड भित्र रहेको माछाको परिकार, खानामा स्थानीय जेठोबुढो धानको चामलको भात लगायतका स्थानीय उत्पादन आफ्नोमा आउने पाहुनालाई खुवाउने गरेको उहाँको भनाई छ ।

जीवन तालिम कुक हुनुहुन्छ । अशोक र जीवनसँगै कटेजमा ४ जनाले पूर्णकालिन रुपमा सेवा दिदै आउनुभएको छ । अन्य २ जना वैकल्पिक रुपमा काम गर्नुहुन्छ । बाबा आमाले पनि पूर्ण रुपमा सहयोग र रेखदेख गर्ने गर्नुभएको अशोकको भनाई छ ।

‘व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको जेठो छोराले बैंकमा जागिर खाए हुन्थ्यो भन्ने चहाना थियो,’ अशोकका बुवा खगराज भन्नुहुन्छ, ‘तर, परिवार मिलेर व्यवसाय गरौं भनेर लागेका छन् उनिहरुको चाहानामै सन्तुष्ट भएको छु ।’

‘डिग्री पढेको छोरो होटल खोलेर बस्छु भन्दा चित्त बुझेको थिएन,’ खगराजले भन्नुभयो ‘तर, सबै परिवार सँगै मिलेर बसेर काम गर्दा आजभोली आनन्द आएको छ ।’

केडी कटेजमा घरबास(होमस्टे) सैलीका ४ एट्याच रुम छन् । एक सय ५० जना अट्ने क्षमता भएको सभाहल छ । त्यस्तै एकै पटक एक सय जनालाई खाना खुवाउन मिल्ने क्षमताको डाइनीङ हल सहितको सुविधा भएकाले पार्टी, ब्रतबन्ध तथा बिबाह एवम् सेमिनार गर्नका लागि पनि एकान्त अनि यातायातको पनि सुविधा सहितको व्यवस्था रहेको अशोकको भनाई छ ।

युवाहरु विदेशीने क्रम हुँदै गर्दा पनि स्नातक तह उत्तीर्ण गरेका युवाहरु नै आफ्नै क्षेत्रमा व्यवसायमा लाग्नु सकारात्मक भएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । युवाको सोच र व्यवस्थापन भएको खण्डमा व्यवसाय पनि राम्रो हुने भएकाले अन्य युवाले पनि व्यवसायीक हुन लाग्नु पर्ने उहाँको भनाई छ ।

Leave a Reply