गैरसरकारी संस्था मिलन म्याग्दीले आफ्नो २४औं स्थापना दिवस हिजो शनिवार विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । संस्थाको नीति, नियमावली, कार्यनीति एवं समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया र सहयोग हस्तान्तरण गरी स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले गैरसरकारी संघसंस्थाहरुले राज्यलाई सहयोग गर्नुपर्ने बताउनुभयो । मिलन म्याग्दीको पूर्व अध्यक्ष तथा कार्यकारी निर्देशक समेत रहनुभएकी उपाध्यक्ष पुनले गैससहरु राज्यका सहयोगी निकाय भएकाले समुदायस्तरमा पुगेर सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउँदै स्थानीय सरकारसँग गैरसरकारी संघसंस्थाले आवश्यक समन्वय र सहकार्य गरी आफ्ना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँ, पूर्व अध्यक्षद्वय जुना गर्बुजा र विनय श्रेष्ठ, संस्थापक सदस्य गोरखबहादुर सार्की र सल्लाहकार ठहरबहादुर भण्डारीले समाज रुपान्तरण तथा परिवर्तनका लागि गैरसरकारी संघसंस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँहरुले जिल्लामा मिलन म्याग्दीले स्थापनादेखि नै हालसम्म शिक्षा, स्वास्थ्य, पोषण अवस्था सुधार, पूर्वाधार निर्माण तथा सचेतनामूलकलगायत थुप्रै कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि समुदायस्तरमा पुगेर सचेतनासम्बन्धी विभिन्न क्रियाकलापहरु गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । स्थापना दिवसको अवसरमा संस्थाको विधान, नीति, नियमावली र निर्देशिकालगायत विषयहरुमा अपडेट गर्न तथा समय सान्दर्भिक बनाउनका लागि अन्तरक्रिया र छलफल गरिएको थियो ।

यसअन्तर्गत आर्थिक प्रशासन, मानव स्रोत व्यवस्थापन, बालबालिकासम्बन्धी, लैङ्गिक समावेशी तथा सामाजिक समावेशीकरणलगायत नियमावलीहरुलाई आवश्यक छलफल गरी संशोधन गर्ने तथा समय सान्दर्भिक बनाउने विषयमा छलफल भएको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले जानकारी दिनुभयो ।

सोही कार्यक्रमको अवसर पारेर बेनी नगरपालिका–४, सिङ्गाका क्यान्सरपीडितहरु लालमाया मिजार, बलबहादुर मिजार र धनबहादुर मिजार तथा रघुगंगा गाउँपालिका–३, राखुपिप्लेका क्यान्सरपीडित रिमबहादुर सेन्चुरीलाई मिलन म्याग्दीमार्फत सङ्कलित क्रमशः नगद पाँचहजार चारसय ५० रुपैयाँको दरले उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।

मिलन म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाको अध्यक्षता, सचिव तिलकुमारी रानाको सञ्चालन र कोषाध्यक्ष ज्ञानुकुमारी बानियाँ केसीको स्वागतमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीबाट जिल्लामा हालसम्म सञ्चालित परियोजना, संस्थागत गतिविधि, संस्थाको सञ्जालीकरण, वार्षिक कार्यक्रम, नीति र नियमावलीहरुको पुनरावलोकनको विषयमा संस्थाका कार्यकारी निर्देशक बिटालुले प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave a Reply