कोरोनाको लहरसँगै बन्द भएको म्याग्दीको चिज उद्योग सञ्चालनमा आउने भएको छ । कोरोना भाइरसको पहिलो र दोस्रो लहरसँगै प्रसिद्ध पर्यटकीयस्थलहरुमा समेत बाह्य पर्यटकको चाप घटेसँगै बिक्री हुन छाडेपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र रहेका तीनवटा चिज उद्योग बन्द भएको थियो ।

विसं २०७६ कोे चैतदेखि बन्द भएको हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाले विस्तारै माग आउन थालेपछि आगामी फागुन ७ गतेदेखि नियमित उत्पादन गर्ने निर्णय गरेको छ ।

आइतबार गाउँमा कृषकको भेला गरी उत्तरी म्याग्दीका पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढेको र मुस्ताङ र पोखरामा समेत बिक्री गर्न सकिने भएकाले उद्योग पुनः सञ्चालनको वातावरण चिज उद्योगका सञ्चालक श्यामप्रसाद खड्काले बताए ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, ६ घार र ८ राम्चेमा रहेका चिज उद्योग २०७६ सालको चैतदेखि बन्द अवस्थामा रहेका छन् । कोरोना भइरुका कारण बजारमा लैजाने तयारीमा रहेको करिब १५ टनभन्दा बढी चिज पनि कुहिएर खेर गएपछि बन्द भएको थियो ।

बजारमा प्रतिकेजी ८ सयदेखि १ हजारसम्म बिक्री हुने गरेमा स्टक’ रहेको चिज रु ५ सय प्रतिकिलोमा दिँदा पनि बिक्री हुन नसकेपछि कुहिएर खेर गएपछि किसान निराश भएका थिए । चिज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएको अवस्थामा पुनः सञ्चालन गर्ने निर्णयले उत्साहित भएको स्थानीय ठकराज बरुवालले बताए ।

उनका अनुसार उद्योग नै बन्द भएको अवस्थामा दुध बिक्री हुन छाडेपछि स्थानीयले धमाधम गाई बिक्री गर्न थालेका थिए । अहिले उद्योगमा ३७ कृषक आबद्ध छन् । घारका ३५ अगुवा कृषक मिलेर विसं २०७१ मा हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिकरूपमा चिज उत्पादन गर्दै आएका छन् ।

२० लाखको लगानीमा कृषकले चिज उद्योग सञ्चालन गरेका थिए भने दुध उत्पादनका लागि नीलगिरि गाईपालन कृषि सहकारी संस्था नै दर्ता गरेर सोही संस्थामार्फत दैनिक साढे ३ सय लिटर दूध उत्पादन गरी चिज उद्योग सञ्चालन भएको थियो ।

लगानी ३५ लाख पुग्नै लाग्दा उद्योग बन्द भएपछि स्थानीय निराशत भएका थिए । व्यावसायिकरूपमा उन्नत जर्सी र होल्याड जातको गाईपालनमा त्यहाँका कृषकले ७० हजारदेखि तीन लाखसम्म लगानी गरेका छन् । स्थानीयको सक्रियतामा सञ्चालनमा आएको चिज उद्योगलाई स्थानीय सरकारबाट समेत प्रयाप्त सहयोग हुन सकेको छैन् ।

Leave a Reply