म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका आठमध्ये ६ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको छ। डढेलोले दिनहुँजसो वनक्षेत्र नोक्सान भईरहेको छ। अहिले आगलागी भएको म्याग्दीको अधिकांश भेग हिमपात हुने क्षेत्र हो। तर, हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागिरहेको छ। अहिले डढेलो लागेका क्षेत्रमध्ये अधिकांश मानवबस्ती भन्दा टाढाका डाँडाकाँडा हुन्।

त्यस्तै धवलागिरी गाउँपालिकाको उच्च भेगमा पनि अहिले डढेलोले सताउन थालेको छ। धवलागिरी–४ मुदी भेगको उच्च क्षेत्रमा पनि डढेलो लागिरहेको छ। डढेलोले धेरै नै वन क्षेत्र नोक्सान गरिरहेको जिल्ला वन कार्यालय म्याग्दीले बताएको छ। म्याग्दीको गुर्जा, मुदी, कुहिनेमंगले, चिमखोला क्षेत्रमा डढेलो लागिरहेको वन कार्यालयको भनाई छ।

‘यो सिजनमा अहिलेसम्म कम्तिमा २५ ठाउँमा डढेलो लागिरहेको छ। यो क्रम अझै बढिरहेको छ,’ म्याग्दीका वन अधिकृत चन्द्रमणि सापकोटाले भने, ‘दक्षिणीभेगको जंगल दिनहुँ डढेलोले सखाप भईरहेको।’ उनका अनुसार अहिले डढेलो लागेको क्षेत्र उच्च हिमाली भेग हुन्। ती ठाउँमा पोहोर–परार हिउँदमा हिउँ पर्दा चिसोका कारण हत्तपत्ति डढेलो लाग्दैनथ्यो। वर्षा पनि भइरहँदा हत्तपत्ति जंगलमा आगो लाग्दैनथ्यो, तर अहिले भने दिनहुँजसो आगजनीबारे जानाकारी आउने गरेको सापकोटाले बताए।

अघिल्ला वर्ष हिउँदताका बाक्लो हिमपात हुने हुँदा बस्तीसम्म हिडडुल नै सकसपूर्ण हुने गरेको भएपनि योपटक भने उच्च भेगमा समेत हिउँ नपर्दा सुक्कापन बढेर डढेलो लागेको उनले बताए। असोजपछि वर्षा नभएको र हिउँ पनि नपर्दा अहिले सुक्कापन बढेको सापकोटाले बताए। ‘हिउँ पर्ने ठाउँमा मुख्य सिजनका एकदिन पनि हिउँ परेन। पानी पनि परेको छैन, त्यसले जमिन सुक्का बनाएको छ। चिसो कतै देखिन्न,’ उनले भने, ‘घास पुरै सुकेको छ। वनजंगल नै पुरै सुक्खा भएको छ । जसले गर्दा आगलागी फैलिन सघाउँछ।’

उनले पानी नपर्ने हो भने डढेलोको जोखिम अझै बढ्ने बताए। ‘अझै केहीदिन पानी नपर्ने हो भने पहाडी भेगमा झनै डढेलो लाग्नेछ,’ उनले भने। उनका अनुसार डढेलो लागिहाले पनि उच्च भेगमा आगो निभाउन पनि जान सक्ने अवस्था छैन। आगलागी भइहालेमा पनि निभाउन जाउ भनेर गाउँलेलाई पनि भन्न सकिन्न। किनकी श्रोतसाधन अभावमा आगलागी नियन्त्रण गर्न सकिने अवस्था छैन। ‘आगो निभाउन जाँदा पोहोर जलेर दुइजनाको ज्यान गएको हो। त्यसैले गाउँलेलाई आगो निभाउन जाउ भनेर भन्ने अवस्था नै छैन,’ उनले भने, ‘हातमा केही छैन, रित्तो मान्छेले केही गर्न सक्दैन।’

उच्च हिमाली भेगमा त झनै जानीजानी डढेलो लगाउने चलन रहेको पनि सापकोटाले जानकारी दिए। उच्च भेगमा भेडा पाल्ने र घास पलाओस भनेर पनि जंगलमा आगो लगाउने चलन रहेको उनले सुनाए। ‘एउटै जंगलमा दुईपटकसम्म डढेलो लाग्ने गरेको छ। पानी परेपछि घास पलाउने र भेडा चराउन सहज हुने भन्दै उच्च भेगमा जानाजान डढेलो लगाउने गरिएको छ,’ उनले भने, ‘जथाभावि डढेलो लगाउँदा वातावरण प्रदूषण पनि बढाएको छ। सबैतिर धुलो र धुँवा उड्दा अहिले वायुमण्डल निकै नै प्रदूषित भएको छ।’

म्याग्दीमा मात्र नभई केहीदिन अघि मात्रै कास्कीको काहुँडाँडामा पनि डढेलो लागेको थियो। सुरक्षाकर्मी, स्थानीयबासी र वन कार्यालयका कर्मचारी मिलेर काँहुडाँडाको आगो नियन्त्रण गरेका थिए। त्यस्तै पोखरा–१६ को ढिकीडाँडा क्षेत्रमा पनि तीनदिन अघि डढेलो लागेको थियो। कास्कीका वन अधिकृत केदार बरालले कास्कीमा पनि डढेलोको जोखिम बढेको बताउँछन।

‘अहिले नै धेरै ठाउँमा त होईन, तर, सुरुवात भएको छ। यो बेला सचेत नहुने हो भने डढेलोका घटना बढ्न सक्छन,’ बरालले भने, ‘यो पटक हिउँ र पानी कतै परेको छैन। हिउँ नपर्दा उच्च हिमाली भेग पनि सुक्खा भएको छ। कतैपनि हिउँ र पानी नपर्दा चिस्यान छैन।’ फागुन देखि बैशाखसम्म डढेलोका घटना हुनसक्ने उनले बताए। ‘डढेलोका कारण सचेत हुने बेला हो । यो बेला सचेत नहुने हो भने वनजंगल सखाप हुन सक्छ,’ बरालले भने।

हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि डढेलोको जोखिम उत्तिकै छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले त मनाङ क्षेत्रमा डढेलोको जोखिम कम गर्न सचेतनामुलक गतिविधि नै चलाईरहेको छ। एक्याप मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमले वर्षा र हिमपात नहुँदा हिमाली भेग पनि सुक्खा भएको र डढेलोको जोखिम बढेको बताए। मनाङमा केही वर्ष अघिको डढेलोले ठुलो आकारमा वनक्षेत्र नोक्सान गरेको थियो। अहिले पानी र हिउँ नपर्दा फेरि पनि उत्तिकै जोखिम निम्तिने त्रासले सरोकारवालालाई सचेत गराउन गतिविधि गराईरहेको गौतमले बताए। एक्यापले मनाङको ताचै, थान्चोक र चामेमा गरि तीनवटा यूनिटमा डढेलोबारे सचेतनामुलक कार्यक्रम गरिसकेको उनले बताए।

कास्कीकै अन्नपूर्ण आधारशिविर पदमार्गका व्यवसायी दिलिप गुरुङले अन्नपूर्ण क्षेत्रका उच्च भेगमा डढेलो लागेको बताए। ‘उच्च भेगमा केही ठाउँमा डढेलो लागिसकेको छ। अहिले पानी र हिउँ परेन, त्यही भएर उच्च भेगमा डढेलोका घटना हुनसक्ने जोखिम छ,’ गुरुङले भने, ‘तल्लो भेगमा त अहिलेसम्म डढेलो लागेको छैन। तर, उच्च भेगमा भने जोखिम उत्तिकै छ।’

Leave a Reply