म्याग्दीको मंगला गाउँपालिकामा फागुन २ गतेदेखि ५ वडामा एकैपटक राष्ट्रिय परिचयपत्र दर्ता घुम्ति शिविर सञ्चालन गरिने भएको छ । बेनी नगरपालिकामा सकिएपछि मंगला गापामा फागुन २ गतेदेखि १२ गतेसम्म परिचयपत्र दर्ता गरिने भएको हो।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा सहितको टोलीले गएको बिहिबारगाउँपालिका अध्यक्ष सतप्रसाद रोका सहितको टोलीसँग दर्ता शिविरको पूर्वतयारी सहित वडास्तरमा गरिने जानकारी गराउनुभएको थियो।

गाउँपालिकाले दर्ता शिविर राखिने तालिका नै सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो । ‘यो अवसरलाई सदुपयोग गर्न अपिल गछौं, शिविर सञ्चालन हुने बारेमा प्रचारप्रसार गरिसकेका छौ’ खत्रीले भन्नुभयो । जनशक्ती ब्यवस्थापन गर्नुपर्ने भएकाले सर्वसाधारणलाई पायक पर्ने गरी शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

अभियानको क्रममा छुटेकालाई समेत कार्यतालिका अनुसार अन्तिम समयमा वडा कार्यालयमा शिविर सञ्चालन गरिने गाउँपालिकाका प्रबक्ता एकजित रोकाले बताउनुभयो ।

वडामा दुई वटा स्टेशन हुने र टोलीले जैविक र व्यक्तिगत विवरण दर्ता गर्ने बताइएको छ । विभिन्न १३ किमिसमका सामग्री सहित २० जना जनशक्तिलाई परिचालन गरिने छ ।

राष्ट्रिय परिचय पत्र बनाउन सक्कल नागरिकता, विवाहितको हकमा सक्कल विवाहदर्ता वा नाता खुल्ले सक्कल सरकारी परिचयपत्र सहित स्टेशनमा आउन गाउँपालिकाले अनुरोध गरेको छ। यो अभियानमा छुटेकाले सदरमुकाम बेनीमा आएर जिल्ला प्रशासन कार्यालयमा आएर दर्ता गर्नुपर्छ।

Leave a Reply