म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन कुँबरले साइवर अपराध र लागूऔषध नियन्त्रणमा जोड दिने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज (आइतबार) आयोजना गरेको पत्रकार भेटघाट तथा  कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नवआगन्तुक डिएसपी कुँबरले पछिल्लो समय साइवर अपराध र लागूऔषध समस्याको रुपमा रहेको बताउँदै यसको समाधानका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले साइवर अपराध र लागूऔषधलाई नियन्त्रण गर्न आवश्यक कार्ययोजना निर्माण गरी सरोकारवाला निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिनुभयो ।

साइवर अपराध तथा लागूऔषध नियन्त्रण गर्ने आफ्नो मुख्य योजना रहेको सुनाउँदै डिएसपी कुँबरले म्याग्दीमा पनि लागूऔषध समस्याको रुपमा रहेको आफूले बुझेको बताउनुभयो ।

उहाँले जिल्लामा शान्ति, सुरक्षालाई मजबुत बनाउने विषयमा आफू कटिबद्ध भएर लाग्ने भन्दै लागूऔषध र साइवर अपराधसम्बन्धी घटनाहरुलाई न्युनीकरण गर्न बालबालिकादेखि किशोरकिशोरीहरुलाई लक्षित गरेर सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनमा जोड दिइने बताउनुभयो । लागूऔषध र साइवर अपराधका घटना भएमा कानुनअनुसार कारवाही गर्ने उहाँको भनाइ छ ।

डिएसपी कुँबरले प्रहरी कार्यालयमा आएर सर्वसाधारण, नागरिकहरुले सहज रुपमा सेवा पाउने वातावरण निर्माण गर्ने र यसको प्रभाव आगामी दिनमा देखिने पनि दावी गर्नुभयो । उहाँले प्रहरी कार्यालयबाट उपलब्ध हुने सबैखाले सूचना प्रवाहमा कुनै पनि समस्या नहुने बताउँदै सूचनाहरु सबैले सहज रुपमा प्राप्त गर्ने वातावरणको सिर्जना हुने बताउनुभयो ।

 

Leave a Reply