नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाले आज (आइतबार) आफ्नो २०औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । रेडक्रस म्याग्दी शाखाको स्वर्णजयन्ती एवं पुलाचौर उपशाखाको स्थापना दिवसको अवसरमा वडास्तरीय अन्तर विद्यालय (कक्षा १–५) म्युजिकल चियर प्रतियोगिता, सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो ।

म्युजिकल चियर प्रतियोगितामा १० वटा विद्यालयहरुबाट प्रतियोगी सहभागी भएकोमा गंगा हिमालयन आवासीय ईङलीस बोर्डिङ स्कूलका विद्यार्थी साजन रामदाम प्रथम, जनकल्याण माध्यमिक विद्यालयका विद्यार्थी आयुष श्रेष्ठ द्वितीय र बालजागृति आधारभूत विद्यालयका विश्वराज बानियाँले तृतीय स्थान हासिल गर्नुभएको छ ।

उहाँहरुलाई क्रमशः नगद सातसय, पाँचसय र तीनसय रूपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।स्थापना दिवसको अवसरमा रेडक्रस पुलाचौर उपशाखाद्वारा चारजना सक्रिय रेडक्रसकर्मी एवं उत्कृष्ट सल्लाहकारहरूलाई सम्मानपत्रले सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा जनकल्याण माविका प्रधानाध्यापक कमलप्रसाद पौडेल, पौलस्त्य मावि भिरमुनीका प्रअ प्रेमबहादुर बानियाँ, पौलस्त्य माविका पूर्वअध्यक्ष एवं म्याग्दी बहुमुखी क्याम्पसका पूर्व उपाध्यक्ष मिनबहादुर बानियाँ र ज्योती आधारभूत विद्यालय डडुवाका प्रअ मिनबहादुर खत्रीलाई रेडक्रस उपशाखा सभापति शिव बानियाँ र कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय कलाकार एवं सोही विद्यालयको कक्षा ११ का विद्यार्थी सुभाष विकको मार्मिक गीत र वास्तविक अभिनयले दर्शकहरू निकै भावुक बनेका थिए । कार्यक्रममा उपशाखाको तर्फबाट युवा रेडक्रस सर्कलमा रही सक्रिय भूमिका निर्वाह गर्ने २ जना विद्यार्थीहरूलाई पाँचहजार रूपैयाँ बराबरको स्टेशनरी प्रदान गरिएको थियो । स्टेशनरी सहयोग पाउनेहरूमा कक्षा १२ का दीपेश दर्जी र ११ का मुना दर्जी रहेका छन् ।

रेडक्रस पुलाचौर उपशाखाका सभापति तथा जनकल्याण माविका शिक्षक शिव बानियाँको अध्यक्षता र उपशाखा सचिव एवं सोही विद्यालयका शिक्षक रेशम बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा युरेस जनकल्याण माविका अध्यक्ष प्रज्ञा बानियाँले स्वागत गर्नुभएको थियो ।

Leave a Reply