२८ औ जनयुद्ध दिवस सोमबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । तत्कालीन नेकपा माओवादीले वि.स. २०५२ फागुन १ गते देखि शशस्त्र विद्रोह शुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउन सरकारले सार्वजनिक विदा समेत दिएको थियो ।

म्याग्दीमा नेकपा माओवादी केन्द्र र नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाले छुट्टाछुट्टै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका हुन् । माओवादी केन्द्रले महारानी थान स्थित पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । नेकपाका नेता कार्यकर्ताहरुले बेनीमा घरदैलो गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोविन्द पौडेलले सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा घोषणा गरेर जनयुद्धलाई देशको साझा दिवसका रुपमा स्थापित गरेको बताउनुभयो ।

“जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुनु,” उहाँले भन्नुभयो “जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो ।”

जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित गरेको माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य पदम किसानले बताउनुभयो । सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको कार्यान्वयन अबको दायीत्व भएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताउनुभयो ।

वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको बेनी नगर कमिटिका अध्यक्ष सेरबहादुर केसीले बताउनुभयो ।

कार्यक्रममा सहभागी माओवादीका नेता कार्यकर्ताहरुले सहिदको सपना र भावना अनुसार नेतृत्वले काम गरेर देखाउनुपर्ने र त्यसमा आफूहरुले साथ दिने बताएका थिए । माओवादी घटकहरुको एकता र अग्रगमनकारीहरुबीच राजनीतिक धु्रविकरण गर्नुपर्ने उनिहरुको भनाई थियो ।

यसैगरी जलजला गाउँपालिकामा माओवादी केन्द्रले दिप प्रज्वलन र शुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाएका छन् । माओवादी केन्द्रका गाउँपालिका कमिटि अध्यक्ष तथा गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपक आचार्यको नेतृत्वमा दिवस मनाइएको थियो ।

Leave a Reply