म्याग्दीको सदरमुकाम बेनीमा सोमबार देखि महिलाहरुको आयआर्जनका लागि अचार बनाउने तालिम सुरु भएको छ । महिला उद्यम विकास समिति म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महिलाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले तालिम लिएर महिला दिदीबहिनीहरुले अचार बनाउनुपर्ने बताउनुभयो । उहाँले महिला दिदीबहिनीहरु विभिन्न पेशा तथा व्यवसायमार्फत आफ्नो खुट्टामा आफै उँभिनुपर्ने भन्दै आत्मनिर्भर भएर व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावसायिक रुपमा अचार उत्पादन गरी म्याग्दीका होटल तथा रेष्टुरेण्टमा बिक्री गर्नुपर्ने बताउनुभयो ।

अब छिटै नै बेनीको कालीपुलस्थित पर्यटन सूचना केन्द्र अगाडि एउटा सटरमा म्याग्दी उद्योग वाणिज्य संघको आफ्नै संस्थागत कोसेली घर स्थापना गरिने बताउँदै अध्यक्ष कटुवालले कोसेली घरबाट महिला उद्यमीहरुले उत्पादन गरेका उत्पादनहरुको बिक्री तथा वितरण गर्ने व्यवस्था मिलाइने बताउनुभयो । अहिले पनि म्याग्दीका होटल तथा रेष्टुरेण्टहरुमा जिल्लाभन्दा बाहिरबाट अचार आउने भन्दै अब जिल्लामै उत्पादन गरेर बाहिरबाट आउने अचारलाई रोक्नुपर्ने उहाँको भनाइ छ ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले महिलाहरुको पेशा, व्यवसायलाई टिकाउन र उनीहरुको उत्पादनको लेबलिङ तथा प्याकेजिङका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले म्याग्दी उद्योग वाणिज्य संघको आफ्नै लगानीमा अचार बनाउने तालिम पहिलो भएको बताउँदै तालिम लिएपछि महिला दिदीबहिनीहरुले व्यावसायिक रुपमा अचार उत्पादन गरी बाहिरबाट आउने अचारलाई प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले महिला उद्यमीहरुले गरेको काम तथा व्यवसायलाई प्रोत्साहन र बजारीकरण गर्नका लागि उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

अचार बनाउने तालिमका प्रशिक्षक एवं धनु अचार उद्योग तनहुँका प्रोप्राइटर धनमाया रानाले गाउँमा पाइने अर्गानिक उत्पादनहरुको प्रयोगमा अचार बनाउन सकिने बताउनुभयो । उहाँले विगत १५ वर्षदेखि तनहुँमा व्यावसायिक रुपमा अचार बनाउँदै आएको बताउँदै लोकल बेसारको प्रयोग गरेर नसुकाइकन पनि अचार बनाउन सकिने बताउनुभयो । आफूले टेस्टिङ पाउडर र विभिन्न रङहरुको प्रयोग नगरिकनै अर्गानिक अचार बनाएको बताउँदै उहाँले सधैँ लोकल चिजको प्रयोगमा अचार बनाउने गरेको जानकारी पनि दिनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले तालिमपश्चात् मीठो अचार बनाउन सहभागी महिलाहरुलाई सुझाव दिनुभयो । महिला उद्यम विकास समितिका सभापति लक्ष्मी भण्डारी कार्कीले स्थानीयस्तरमा उपलब्ध कच्चापदार्थहरुको प्रयोग गरेर अचार बनाउन सकिने बताउँदै महिला दिदीबहिनीहरुलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिनुभयो । आगामी ५ दिनसम्म सञ्चालन हुने तालिममा ८५ जना महिलाहरुको सहभागिता रहेको छ ।

कार्यक्रम महिला उद्यम विकास समितिका सभापति कार्कीको अध्यक्षता एवं स्वागत, वरिष्ठ उपाध्यक्ष अम्बिका श्रेष्ठको धन्यवाद मन्तव्य र सचिव राधिका सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । गाउँघरमा पाइने टमाटर, मुला, गाजर, गुन्द्रुक, भटमास, बन्दा, काउली, अमला, कागतीलगायत स्थानीय कच्चापदार्थहरुको प्रयोग गरेर बनाइने मीठो र स्वादिष्ट अचारबाट आकर्षक आम्दानी समेत गर्न सकिन्छ ।

Leave a Reply