म्याग्दीको बेनी नगरपालिका-७ मंगलाघाटबासीको सक्रियतामा स्थापना भएको मंगला आमा समुहको अध्यक्षमा टकसरा राना मगर चयन हुनुभएको छ । आइतवार सम्पन्न आमा समुहको ११ औँ साधारणसभा तथा ५ औ अधिवेशनबाट रानाको अध्यक्षता सर्वसम्मत रुपमा २१ सदस्यीय कार्य समिति चयन गरिएको हो । नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा तारा छन्त्याल, सचिवमा रेनु पूर्जा, सह सचिवमा देविका बुढा र कोषाध्यक्षमा तिर्सना भण्डारी चयन हुनुभएको हो ।

अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले समाज परिवर्तनमा महिला दिदी बहिनीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले आमा समुह अग्रस्थानमा रहेर सामाजिक कार्यमा सक्रिय हुने समुह भएको समेत बताउनुभयो । समाजमा हुने विकास निर्माण, सामाजिक अभियानसँगै विकृतिलाई समेत न्यूनिकरणको अभियानमा आमा समुहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष रानाले महिलाहरुको क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्ने र विभिन्न सिपमुलक तालिमहरु संचालन गरि महिलाहरुलाई आयआर्जनमा जोड्ने कार्यमा लागिपर्ने प्रतिवद्धता जनाउनुभयो । मंगला आमा समुहको मंगलाघाटमा आफ्नै भवन समेत रहेको छ । कला संस्कृतिको संरक्षण गर्दै महिलाहरुको क्षमता बृद्धिका लागि आमा समुहले निरन्तर गतिविधिहरु संचालन गर्दै आएको छ । मंगलाघाटबासीले देउसीभैलो लगायत विभिन्न माध्यमबाट चन्दा संकलन गरी आमा समुहको भवन बनाएका थिए । आमा समुहको भवनबाट सामाजिक तथा विभिन्न संघसंस्थाको कार्यक्रमका साथै धार्मिक कार्यहरु समेत हुने गरेको छ।

 

Leave a Reply