मंगलघाट बजार नजिकै रहेको एउटा बंगुर फार्म भित्र चारैतिर चर्किएको साँगुरो कोठा छ। केही थान जस्तापाताले भत्किएको भाग छोपिएको छ। रित्तो ग्याँसको सिलिण्डर, सानो चुल्हो र भाँच्चिन लागेको एउटा सुत्ने खाट छ। नजिकै रहेको म्याग्दी खोलाबाट चलेको सिरेटोले मुटु नै कमाउने गरी हावा कोठाभित्र छिर्छ। कोठासँगै जोडिएको एउटा बंगुरको खोर छ।
बर्खाको समयमा टिनको छानोले पानी ओत्दैन। टिनको केहिभागमा साना साना प्वालहरु परेका छन्। झट्ट सुन्दा र प्रत्यक्ष गएर हेर्दा यो सुत्ने कोठा जस्तो नै लाग्दैन। तर बेनी नगरपालिका–७,मंगलाघाटमा बस्ने ४५ वर्षीय राजकुमारी राई छोरीसँग त्यही चर्किएको र साँघुरो कोठामा दैनिकी बिताउने गछिन्।
कथामा मात्रै होइन् वास्तविक जिवनमा पनि राजकुमारीहरु दरवारमा बस्छन्, लोभलाग्दो जिन्दगी विताउँछन् तर गरिबीको भूमिरीमा कष्टकर जिवन विताउँदै हुर्किएकी राजकुमारीको दुखान्त कथा यस्तो छ ।
विगत चार वर्ष भन्दा लामो समयदेखि यही छाप्रोमा राजकुमारी र उनकी छोरी पुष्पा राई बस्दै आएकी छिन्। ६ बर्ष पहिले श्रीमानले अर्को विवाह गरी चरम यातना दिएपछि उनी खोटाङ छाडेर म्याग्दी आएकी हुन्। त्यहीँ रहेको एक छाप्रोमा अहिले उनी बस्दै आएकी छिन्।
उनले काम गर्दै आएको बुंगुर फार्मको बुंगुरलाई ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण भएपछि उनले तलब पाएकी छैनन्। बुंगुर साहुले खाने बस्ने र छोरीको शिक्षादीक्षाका लागि मासिक ५ हजार तलब दिने सहमति भएपनि भने जस्तो तलब र सेवा सुविधा नपाएकाे उनकाे गुनासाे छ। अहिले सबै बंगुर मरेपछि साहु फोन समेत नलाग्ने गरी सम्पर्कविहीन भएको राजकुमारीले बताउँछिन्।
‘पेटभरि खाने अन्न छैन, ‘मागेर खानुपर्ने बाध्यतालाई लुकाउन कैयौँ रात भोकै सुत्नु परेको छ। ‘चिसो भुईमै रात काट्ने गरेको छु। बिहान–बेलुकी हातमुख जोड्न समेत ठुलै युद्ध जिते जस्तै भएको छ’ राजकुमारीले भनिन्।
छोरीलाई मागेजती खान दिन नसकेपछि रातभरि निन्द्रा समेत नलाग्ने उनी बताउँछिन्। उनले पछिल्लो समय धेरै रात एक छाक खाएर भोकै सुत्ने गरेको सुनाइन्।
सुत्ने र खाना पकाउने कोठामा पुगेपछि राजुकमारीले आँखाभरि आँसु निकाल्दै भनिन्, ‘जीवितै भएपनि नर्कमा छु जस्तै लाग्छ,‘तपाईँले यहाँ क्यामेराले के खिच्नुहुन्छ? न आफुले कमाएको पैसा राख्ने ठाँउनै छ। कमाएका दुई चार हजार समेत चोरी हुन्छ। के नै छ र मेरो तपाइको क्यामराले खिच्ने।’
उनले केहीदिन अघि आएका चोरले पैसा लगेपछि खाना पकाउने चामल समेत किन्न नसक्दा भोकै रात काट्नुपर्ने बाध्यता रहेको सुनाइन्।उनले छोरीलाई राम्रो शिक्षादीक्षा दिएर श्रीमानलाई देखाउने सपना बुनेको छिन्। राजकुमारीले छोरीलाई उच्च शिक्षासम्मको पढाइका लागि सहयोगको याचना समेत गरिन्।
पुष्पाको डाक्टर बन्ने चाहना
चरम गरिबीसँग जुधेर भएपनि पढाइमा अब्बल छिन् १५ वर्षीय पुष्पा राई। बेनी नगरपालिका–२,बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत राई गएको आन्तरिक परीक्षामा प्रथम भइन्। उनी विद्यालयका उत्कृष्ट विद्यार्थीमध्ये एक हुन्। उनले आमाले काम गर्ने बंगुर फार्मभित्र बसेर आमाको काममा समेत सहयोग गदैं आएकी छिन्। जेहनदार,अध्ययनशील र अनुशासित पुष्पा बस्ने ठाउँमा पढ्ने उचित वातावरण नै छैन।
‘बुबालाई देखेको पनि छैन, ‘मलाई छोरी भनेर कहिल्यै फोन आउँदैनन्, पढाइमा मेहनत गरेको छु, ‘ठुलो भएपछि डाक्टर बन्ने हो’ पुष्पाले मुस्कुराउँदै भनिन्।
किताब लिएर केही पढ्दै गरेकी पुष्पाले डाक्टरले बिरामीको उपचार गरेको देखेको बताउँछिन्। उनले आमासँग पैसा नभएपछि विद्यालयबाट स्टेशनरी, पोसाक सहयोग मिलेको बताइन्। यता विद्यालयकी शिक्षिका घनदेवी घर्ती मगरले पुष्पालाई शिक्षकहरुले पढाइको लागि चाहिने सरसामान सहयोग गर्ने गरेको बताइन्।
‘पढ्ने वातावरण पाएपछि पढाइ अझै राम्रो हुन्छ,‘पढाइमा मात्रै ध्यान छ,अतिरिक्त कक्षा सहित उपयुक्त रेखदेख भएमा उनको सपना पूरा हुन्छ’ शिक्षक घर्तीमगरले भनिन्।उनले विद्यालयमा आयोजना गरिने अतिरिक्त क्रियाकलापमा समेत ठुलै स्वरमा भविष्यमा डाक्टर बन्ने सपना रहेको बताउने गरेको बताउँछिन्।
‘पुष्पाको डाक्टर बन्ने सपना पुरा गर्न सबैको साथ र सहयोग आवश्यक छ, ‘बंगुर फार्ममा बसेर पढाइलाई निरन्तरता दिन समस्या देखेको छु, खुल्ला ठाउँ भएकालाई उनी असुरक्षित हुन सक्छिन्’ उनले भनिन्। पढाइ खर्च र केही आर्थिक सहयोग भएमा विद्यालय नजिकै कोठा खोजेर पठनपाठनमा सहज बनाउने योजना रहेको शिक्षक घर्तीमगरको भनाई छ।