अरूणाले सम्हालेपछि सधै म्याग्दीको पोल्टामा उपाधी

0
9

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल प्रतियोगिताको महिला तर्फ म्याग्दीले जितेको छ । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको बुधबार सम्पन्न फाइनल खेलमा महिला तर्फको फाइनलमा पर्वतलाई पराजित गर्दै म्याग्दीले उपाधि जितेको हो ।

म्याग्दीले पर्वतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१४, २५–१६ र २५–१६ अङ्कले विजयी हुँदै उपाधि जित्न सफल भयो । प्रतियोगितामा म्याग्दीकी कप्तान अरुणा शाही महिलातर्फ सर्वोत्कृष्ट खेलाडीको उपाधी जितिन् ।

कुनैसमय साविकको धौलागिरी अञ्चल र पश्चिमाञ्चल क्षेत्रमा महिलातर्फ सेमिफाइनलमा समेत पुग्न हम्मेहम्मे हुने म्याग्दीको महिला टोलीको नेतृत्व राष्ट्रिय भलिबल खेलाडी अरुणा शाहीले सम्हालेसँगै गण्डकी प्रदेशका ११ जिल्ला बिच हुने खेलमा म्याग्दीले सतप्रतिशत नतिजा निकाल्ने सफल भएको छ ।

केही महिना अगाडी सम्पन्न भएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दीे महिला भलिबलले उपाधी जितेको थियो पछिल्लो एकदशक यता भएका खेलहरुमा अरुणाले म्याग्दीबाट नेतृत्व गरेको खेलमा महिला टोली सधै उपाधी चुमेर फर्किएको छ ।

म्याग्दीले तत्कालिन पश्चिमाञ्चल तथा सातौँ र आठौँ राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय प्रतियोगितामा म्याग्दी अरुणाकै कप्तानीमा लगातार च्याम्पियन बनेको थियो । उपाधी जित्न फलामको चिउरा चपाएजस्तै हुने महिला टोली गण्डकी प्रदेशमा निरन्तर च्याम्पियन भएको छ ।

म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले गृहजिल्लाबाट क्षेत्रीयस्तरको खेलमा अन्य महत्वपूर्ण अवसरलाई समेत पन्छाएर सहभागी हुने थालेपछि महिला भलिबल उचाईमा पुगेको छ। राष्ट्रिय महिला भलिबलकी कप्तान भएपनि अरुणाले दिएको समय, अन्य खेलाडीको अभ्यास र क्षेत्रीयस्तरका खेलमा सहभागी हुने वातावरण समेत बनेकाले म्याग्दीको महिला भलिबलले साँच्चिकै एउटा लय समाउन सफल भएको जिल्ला भलिबल संघ म्याग्दीका तेजेन्द्र बानियाँले बताए ।

‘प्रयाप्त स्रोतसाधनको अभावमा पनि महिला भलिबलले राष्ट्रिय पहिचान स्थापित गर्न सफल भएको छ,‘भलिबलका लागि म्याग्दीलाई हब बनाउन समेत उपाधीले धेरै सहज भएको छ’ अध्यक्ष बानियाँले भने। राष्ट्रिय टोलीको नेतृत्व गरेपनि अरुणाले जिल्लाका भलिबल खेलाडीहरूका साथै प्रतियोगिताका लागि राम्रो अवसर समेत छोड्ने गरेकाले अन्य खेलाडी समेत उत्साहित हुने गरेको प्रशिक्षक बानियाँको भनाई छ ।

महिला भलिबलको नेतृत्व गरेपछि अरुणाको मेहनत, टिमभित्र सहकार्य, खेलाडीलाई कप्तानभन्दा पनि खेलाडीकै ब्यवहार, बन्द प्रशिक्षणमा खेलमै केन्द्रित हुने गरेकाले पनि टिमका सदस्यले हातमा हात राखेर, काँधमा काँध जोडेर अगाडि बढेका छन् । साधारण स्वभावकी शाहीमा कहिल्यै पनि कप्तानको धमण्डको छायाँ देखिएन्।‘राष्ट्रिय टोलीको कप्तान भन्ने महसुस खेलमैदान भित्र नहुने भएकाले भलिबलको अनुभवले भरिएको समुन्द्रमा खेल्ने अवसरको पाएको खेलाडीको भनाई छ ।

अरुणालाई साथ दिने म्याग्दीको टोलीमा पवित्रा बिसी, रेजिना घर्ती, मनिषा तिलिजा लगायतका नयाँ खेलाडीको उदयले समेत उपाधी जित्न थप सहज भएको छ ।

मुख्यमन्त्री भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी अरुणा शाहीसँगै उत्कृष्ट बेष्ट सेटर रिविना घर्ती, उत्कृष्ट ब्लकर मनिषा तिलिजा घोषित भईन् । म्याग्दीको टोलीको कप्तानी गरेकी अरुणाले सबै खेलाडीलाई दिने साथ र सहयोग समेत उपाधी जित्ने अर्को आधार हो ।

नेपाली खेलकुद जगतको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको १७औं संस्करणको उपाधी सहित दर्जनभन्दा बढी राष्ट्रियस्तरको उपाधी समेत जितेकी कप्तान शाहीले गृह जिल्लाबाट खेल जिवनभरी साथ र सहयोग गर्ने बताईन् । उनले आफुँलाई राष्ट्रिय टोलीबाट सहभागी हुने खेल बाहेक अन्य ठूला अवसरहरू भन्दा जिल्लाको टोलीबाट उपाधी जित्दा उत्साहित हुने बताईन् ।

खेलमा लगनशील र निरन्तर लागेकै कारण यो सफलताको उचाईमा पुगेपनि शाहीलाई प्रचारप्रसार रुचाउँदैनन्। भलिबल खेलमा शाहीको संघर्ष र चुनौतीलाई सामाना गर्न सक्ने क्षमताले नै अहिले लोभलाग्दो नतिजा आउन सफल भएको छ।सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी थिइन्।

राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी अरुणाको कप्तानीमा नेपालले २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधी जितेपछि महिला भलिबलको सफल कप्तानको रुपमा समेत उनलाई हेर्ने गरिन्छ । कप्तान अरुणा शाहीले एसियन सेन्ट्रल जोन महिलाको पहिलो र दोस्रो उपाधी जिताएकी थिईन् ।

हरेक अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागी र काँस्य पदकसम्म पुगेर घर फर्किने गरेको नेपाली महिला टोलीले शाही कप्तान भएपछि सार्कस्तरीय प्रतियोगितामा आफ्नो बलियो उपस्थिति देखाउन सफल भएको थियो । नेपाली टोलीले अरुणाकै नेतृत्वमा भलिबलमा ब्यापक सूधार गरेकाले अन्तराष्ट्रियस्तरको प्रशिक्षणमा समेत सहभागी हुने गरेकी छन् ।