म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ आज (शुक्रवार) एक कार्यक्रमको अवसरमा सम्मानित हुनुभएको छ । बेनी नगरपालिका-५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा उहाँ सम्मानित हुनुभएको हो ।

जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्नको लागि अक्षयकोष स्थापनामा पत्रकारिताको माध्यमबाट पु¥याएको महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै जनकल्याण मावि अक्षयकोषद्वारा उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरिएको विद्यालयले जनाएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित चिप्लेटी घर भई हाल बेनीमा बसेर पत्रकारिता गर्दै आउनुभएका बानियाँ विगत एक दशकदेखि क्रियाशील हुनुहुन्छ ।

पत्रकार बानियाँलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, वडानम्बर ५ पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ र जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले अबिर तथा माला लगाएर सम्मानपत्रले सम्मान गर्नुभएको थियो । उहाँ सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजन तथा उज्यालो रेडियो नेटवर्क र नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको म्याग्दी जिल्ला संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ । बेनीबाट प्रकाशित हुने रुप्से दैनिक पत्रिकाको सहसम्पादक बानियाँ बेनी अनलाइन डटकमलगायत स्थानीय सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ ।

पेशाग सङ्गठनतर्फ प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्ष समेत रहनुभएका बानियाँको जिल्लास्थित विभिन्न सामाजिक क्षेत्रमा पनि क्रियाशीलता रहेको छ । पत्रकार बानियाँले अक्षयकोषको सम्मानले थप जिम्मेवारी थपिएको बताउँदै आगामी दिनमा अझै क्रियाशील भएर पत्रकारितामा लाग्ने बताउनुभयो । कार्यक्रममा अक्षयकोषबाट अन्य व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply