म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको शुक्रवार तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अक्षयकोषको आयोजनामा गिरिजा–टिका फाउण्डेशबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा सम्मानसहित विभिन्न कार्यक्रमहरु गरिएको हो ।

साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगरपालिकाले समग्र नगर क्षेत्रको शिक्षा र स्वास्थ्यको विकासमा जोड दिएको बताउनुभयो । उहाँले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न र भौतिक पूर्वाधारको विकासमा आवश्यक पहल थालिएको बताउँदै जनकल्याण माविको कम्पाउण्ड घेराबार गर्नको लागि यसैवर्ष तीनलाख रुपैयाँ बजेट विनियोजन भएको बताउनुभयो ।

बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले जनकल्याण माविमा स्थापित अक्षयकोषले विद्यालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अधिवेशनबाट अक्षयकोषको लागि सक्षम र योग्य नेतृत्व चयन हुनुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले विद्यालयमा अझै पनि भौतिक पूर्वाधारहरुको कमी रहेकाले वडा कार्यालय र बेनी नगरपालिकाले आवश्यक बजेटसहित योजनामार्फत सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष तथा धनेश्वरी–तारानाथ स्मृति प्रतिष्ठानका सचिव माधवप्रसाद रेग्मी, गिरिजा–टिका फाउण्डेशन पुलाचौरका अध्यक्ष प्राध्यापक डाक्टर हेमराज सुवेदी, विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेल र युवा रेडक्रस सर्कलका अध्यक्ष प्रज्ञा बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटनसत्रमा जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले कोष स्थापना र भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने कोषका सचिव शिव बानियाँले प्रगति र कोषाध्यक्ष गजिन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा गिरिजा–टिका फाउण्डेशनबाट जनकल्याण माविमा अध्ययनरत विभिन्न १० जना विद्यार्थीहरुलाई प्रमाणपत्रसहित छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।

यसैगरी जनकल्याण मावि अक्षयकोषबाट गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यालयको आधारभूत र मावि तहका १९ जना विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र तथा विपन्न विद्यार्थी २ जनालाई विद्यालय पोशाकसहित झोला वितरण गरिएको अक्षयकोषले जनाएको छ ।

त्यस्तै जनकल्याण माविमा कक्षा ११ र १२ सञ्चालन गर्नको लागि अक्षयकोष स्थापनामा सहयोग पु¥याउनुहुने म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ, सर्वोत्कृष्ट चन्दादाता गोपाल बानियाँ, ज्येष्ठनागरिकद्वय दधिलाल पौडेल, पुतली किसान, सहयोगदाता बलराम बानियाँ, सक्रिय सदस्यहरु यामकुमारी श्रेष्ठ र भगवती पौडेल तथा संस्थागततर्फ पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र शिवालय आमा समूह पुलाचौरलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम जनकल्याण मावि अक्षयकोषका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, सचिव शिव बानियाँको सञ्चालन र सदस्य सन्तोष सुवेदीको स्वागतमा सम्पन्न भएको थियो भने कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । यसैबीच जनकल्याण मावि अक्षकोषको दोस्रो अधिवेशनले गजिन्द्र श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

कोषको उपाध्यक्ष्ाँमा देवीदत्त पौडेल, सचिवमा कमलप्रसाद पौडेल, कोषाध्यक्षमा तिलकप्रसाद श्रेष्ठ, उपकोषाध्यक्षमा यामकुमारी श्रेष्ठ, सहसचिवमा प्रकाश सुवेदी र शान्ति शर्मा चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा गोपाल बानियाँ, बलराम बानियाँ, खेमराज पौडेल, भगवती पौडेल, मनिसा परियार, सम्झना परियार, यादव सुवेदी र खड्गप्रसाद श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी अक्षयकोषको लेखा समिति संयोजकमा टंकनाथ शर्मा, सदस्यमा चिरञ्जीवि सुवेदी र आरती विक चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

२०७५ सालमा स्थापना भएको जनकल्याण मावि अक्षयकोषमा हाल मानार्थ, यशस्कर, विशिष्ट र आजीवन सदस्यसहित कुल १ सय ३ जना सदस्यहरु आबद्ध छन् । हालसम्म अक्षयकोषमा कुल रकम ४७ लाख ६३ हजार पाँचसय ११ रुपैयाँ बचत रहेको छ । अक्षयकोषबाट विद्यालयलाई आर्थिक सहयोग गर्नुका साथै विद्यार्थीहरुलाई शैक्षिक सामग्रीलगायत सहयोग गरिँदै आएको छ । कोषलाई वृद्धि गरेर एक करोड रुपैयाँ पु¥याइने जनाइएको छ ।

Leave a Reply