म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको प्रमुख चुनौतीका रुपमा रहेका पहिराको दिगो रोकथामका लागि अध्ययन थालिएको छ । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको १० ठाउँमा पहिराको भौगर्भिक अध्ययन थालेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो र नदी कटानका कारण स्तरोन्नतिको काम प्रभावित बनेको छ।

रघुगङ्गा गाउँपालिकाको गलेश्वर, बैसरी, बेगखोला, अन्नपूर्ण गाउँपालिकाको नौलीबगर, जलथले, खामभित्ता, रुप्से, काभ्रेलगायत ठाउँका पहिरो नियन्त्रणका लागि भूगर्वविद् र प्राविधिकहरुको टोली स्थलगत अध्ययन गरिरहेको आयोजनाले जनाएको छ ।

कालीगण्डकी नदीको कटान र पहिराको जोखिम समस्या रहेको ठाउँमा सडकको दीर्घकालीन सुरक्षाका लागि संरक्षणको काम गर्न अध्ययन गरिएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । “पहिरो रोकथाम र कटान सडकको प्रमुख चुनौती बनेको छ,” उहाँले भन्नुभयो “सडकको दिगोपना र सुरक्षाका लागि पहिरो र कटान नियन्त्रणको थप काम गर्नुपर्ने भएको हो ।”

गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको कालीगण्डकी कोरिडोरअन्तर्गत एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिमा हालसम्म रु ६ अर्ब बजेट सकिएको छ । ७२ प्रतिशत भौतिक प्रगति भएको सडकको थप काम गर्न, सडक कालोपत्र, सुरुङ मार्ग र पहिरो नियन्त्रणका लाग थप रु सात अर्ब बजेट आवश्यक पर्न आयोजनाले जनाएको छ ।

विसं २०७३ मा सुरु भएको आयोजनाको ११ प्याकेजमा सडक स्तरोन्नति गर्न रु सात अर्ब ३५ करोडमा ठेक्का सम्झौता भएकामा छवटा प्याकेजले मात्र पूर्णता पाएको छ । १८ वटा पुल निर्माणाधीन छन् । प्रतिकूल भूगोल, मौसम, कोरोना महामारी र निर्माण व्यवसायीको असक्षमताका कारण विसं २०७६ मा सकिनुपर्ने सडक निर्माण अधुरो रहेको हो ।

बेनी–जोमसोम खण्डको २९ किलोमिटर कालोपत्र भएको छ । जोमसोम–कोरला खण्डको ७५ किलोमिटर ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्ने काम सकिएको छ । विसं २०६४ मा नेपाली सेनाले रु ९० करोड ५६ लाख १० हजारको लागतमा मार्ग खोलेको बेनी–जोमसोम सडक विसं २०७० मा सडक विभागलाई हस्तान्तरण भएको थियो ।

Leave a Reply