मुलुकभरका ७५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशभरमा उत्कृष्ट तीनमा पर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गएको फागुन ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार पश्चिम म्याग्दीको मंगला गाउँपालिका गण्डकी प्रदेशका स्थानीय तहमा पहिलो बन्न सफल भएको हो ।

कार्यसम्पादन मूल्यांकनमा मंगलाले विभिन्न सूचकमा गरी ७७.०९२६ अंक प्राप्त गरेको छ ।  देशभरको स्थानीय तहमा नरैनापुर गाउँपालिकाले ७८.५१८६ अंक, प्यूठान नगरपालिका ७७.२६१४ अंक सहित दोस्रो र ७७.००२४ सिस्ने गाउँपालिका चौथो भएको छ । कार्यसम्पादनमा देशभरका स्थानीय तहमा तेस्रो र ४६० गाँउपालिकामध्ये दोस्रो भएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो। ‘कार्यसम्पादनको नतिजाले उत्साहिन छौ,‘तथ्याङ्क र सेवाप्रवाहमा निरन्तर उत्कृष्ट हुने प्रयास गर्नेछौ’ प्रमुख प्रशासकीय अधिकृत खत्रीले भन्नुभयो ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि,२०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्यांकन अंक प्रदान गरिएको थियो। देशभर नै उत्कृष्टमा परेको खवरले उत्साहित बनाएको पालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

‘जनप्रतिनिधि र कर्मचारीको कामको मुल्याङ्कन भएको छ, यो नतिजामा अझै सुधार गदैं जनताको मन जित्नेछौ’ अध्यक्ष रोकाले भन्नुभयो । ५ वडा वडा रहेको गाउँपालिको समयमै बजेट पेस गरे–नगरेको, असार मसान्तभित्र बजेट पास गरे–नगरेको, राजस्व बाँडफाँट गरे–नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ ।

आयोगले आर्थिक वर्ष ०८०÷८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा सबै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले तल्ला तहमा केन्द्र सरकारले अनुदान दिने व्यवस्था गरेको छ ।जसअनुसार नेपाल सरकारले आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था छ ।

आयोगले सम्बन्धित स्थानीय तह र संघीय सरकारका विभिन्न निकायबाट प्राप्त तथ्यांकका आधारमा कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरिएको हो। यसैबीच म्याग्दीको एक मात्रै बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय तहको सूचिभित्र पर्न सफल भएको छ । त्यस्तै अन्नपुर्ण गाउँपालिकाले ६१.३४,रघुगंगा गाउँपालिकाले ५९.२० ,मालिका गाउँपालिकाले ६२.४८ र धवलागिरी गाउँपालिकाले ५६.७२ अंक प्राप्त गरेका छन् ।

संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ सूचकका आधारमा गत आर्थिक वर्ष २०७८÷७९ को स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

Leave a Reply