पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । ब्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बिच उद्घाटन गरिएको छ ।

बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डौ बस्दै आएका क्या.ईन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिका र मंगला यूवा क्लवको सहयोगमा १० आना जग्गा खरिद गरेर पार्क निर्माण गरिएको पार्कको जग्गादाता, स्थानीयबासी, जनप्रतिनिधि सहितको उपस्थितीमा उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो।

बावियाचौरमा बालमैत्री र बालबालिका लक्षित पार्क तथा बाल उद्यान नहुँदा यसले बालबालिकाको सामाजिक, शारीरिक र मानसिक स्वास्थ्यमा समस्या निम्त्याएको अवस्थामा मोबाइल तथा टीभीमा झुण्डिरहने बालबालिकालाई खेलकुदका माध्यमबाट सिकाइने सिकाइ दीर्घकालीन हुने भएकाले पनि पार्क बनाउन जग्गा सहयोग गरेको जग्गादाता क्याप्टेन अधिकारीले बताउनुभयो ।

गएको आर्थिक वर्षमा निर्माणसम्पन्न भएको इन्द्रेणी पार्कमा एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । पार्क निर्माणमा यसअघि गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय म्याग्दीमार्फत १८ लाख रुपैयाँ बजेट लगानी गरेको थियो भने बाँकी सबै बजेट गाउँपालिकाले व्यवस्थापन गरेको जनाइएको छ ।

पार्क बनाउन आवश्यक पर्ने अन्य जग्गा खरिद गर्न मंगला यूवा क्लवले २ लाख र गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले १ लाख सहयोग गर्नुभएको थियो । मङ्गलाको बाबियाचौरमा पार्क निर्माण भएपछि बिहान र बेलुकाको समयमा बालबालिकाहरु पार्कमा पुगेर रमाउन थालेका छन् ।पार्कभित्र बालबालिकाहरुलाई लक्षित गरेर चिप्लेटी खेल्ने, पिङ खेल्नेलगायत फनपार्कका संरचनाहरु जडान गरिएको छ ।

पार्क बनेर सञ्चालनमा आएपछि बालबालिकाहरुलाई लगेर भुलाउन र खेलाउन पाउँदा अभिभावकहरुलाई पनि राहत मिलेको छ । पार्कको मुख्य मैदानभन्दा माथि तीन वटा प्याराफिट निर्माण गरिएको छ ।

बालबालिकालक्षित अन्य संरचना थपिने तथा ज्येष्ठ नागरिकहरुका लागि पनि शारीरिक व्यायाम गर्ने, मनोरञ्जन लिने र अध्ययन गर्ने लगायतका संरचनाहरु जडान गरिने प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।

पार्क परिसरभित्र संग्रालय स्थापनाको लागि भवन निर्माण गरिसकिएको छ भने चालु आवभित्र संग्रालयका लागि आवश्यक पर्ने साम्रागी खदिरमा १० लाख समेत विनियोजन गरिएको छभने अपाङ्गमैत्री वाक–वे तथा बालउद्यानहरु निर्माण गरिएका छन्। त्यस्तै पार्कको वरिपरि घेराबार लगाउनुका साथै जग्गाधनीको अर्धकदको शालिक समेत अनावरण गरिएको छ ।

पार्कको उद्घाटनको पूर्वसन्ध्यामा सहयोगदातालाई पञ्चेबाजामा बावियाचौर बजार परिक्रममा गरिएको थियो । उद्घाटन समारोहमा मंगला माविका प्रधानध्यापक गमबहादुर खत्री, गाउँपालिकाका प्रबक्ता एवम् वडा नं १ का अध्यक्ष एकजित रोका, पूर्व गाउँपालिका उपाध्यक्ष सिर्जना केसी लगायतले बोल्नुभएको थियो । सोही अवसरमा पहिलो स्थानीय तहको निर्वाचनमा विजय भएका जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो ।

Leave a Reply