---Advertisement---

वर्षा नहुँदा पशुलाई चरन अभाव, उजाडिए लेक र खर्क

By थाहाखबर
On: February 20, 2023 11:50 AM
Follow Us:

म्याग्दी : ६ महिनादेखि वर्षा नहुँदा र हिउँ नपर्दा म्याग्दीको बेसीदेखि उच्च लेकाली क्षेत्रमा पशुलाई चरन अभाव भएको छ।

लामो खडेरी र सुख्खाका कारण लेक र खर्क मा घाँस नउम्रिँदा चरन समस्या भएको हो। लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहान समेत सुक्न थालेका छन्।

गाई–भैंसी लगायत पशुचौपाया कसरी पाल्ने भन्ने चिन्तामा रहेको मालिका गाउँपालिका वडा नं ५ देविस्थानका पशुपालक कृषक डेकबहादुर बूढाले बताए।

उनका अनुसार सामान्यतया माघ महिनाको दोस्रो हप्ताबाट घाँस पलाउन सुरू हुन्थ्यो। तर यो वर्ष  हिउँदे वर्षा नहुदाँ घाँस पलाएको छैन। यसरी घाँस नपलाउँदा घाँसको अभावमा कृषकलाई गाईभैँसी र भेडा बाख्रा के खुवाएर पाल्ने भन्ने चिन्ताले सताएको छ। ​दिनभर वन जंगलमा लगेर छोड्ने र रातमा गोठमा बाँधेर गाईभैंसी पाल्दै आएका कृषकहरू सबै भन्दा बढी समस्यामा परेका छन्।

हिउँदाको अन्तिम र गर्मीको सुरुवातसँगै चरन क्षेत्रमा घाँस पलाउने गरेको भएता पनि यस वर्ष गत असोज महिनापछि पानी नपर्दा कृषक समस्यामा परेका छन्।हिउँदे वर्षा नहुँदा हिउँदे अन्न बाली समेत सुक्दै जान थालेको छ। कतिपय पशु कृषकले घाँस आफ्नो बारीमा लगायका हुन्छन्। धेरैजसो कृषक वन जंगल तथा खोलको नजिकमा भएको घाँसको भरमा पशुपालन व्यवसाय गरिरहेका छन्।

खेतमै सुक्यो हिउँदे बाली 
फागुन पहिलो सातासम्म पनि हिउँदे वर्षा नहुँदा र हिउँ नपर्दा हिमाली जिल्ला म्याग्दी र मुस्ताङमा लगाइएको हिउँदे बाली खेतमै सुकेको छ। हिउँदे बाली लगाएदेखि वर्षा नहुँदा यहाँका किसान चिन्तित छन्। हिउँदे वर्षा नभएपछि म्याग्दी र मुस्ताङमा यो वर्ष उत्पादनमा कमी आउने अनुमान गरिएको छ।

लामो समयसम्म परेको खडेरीका कारण जिल्लामा गहुँ, जौ, केराउ, मुसुरो लगायत बाली उत्पादन कम हुने देखिएको छ। खडेरीका कारण अधिकांश क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्ने थालेपछि वर्षभर के खाने भन्ने चिन्ताले सताउन थालेको बेनी–२ का टेकबहादुर कार्कीले बताए।

‘वर्षा नहुँदा खेतबारीमा लगाइएको हिउँदेबाली सुकेर आगो लगाउने जस्तो भएको छ,’ कार्कीले भने ‘कात्तिकमा छरेको गहुँ, जौ र उवा नपसाई सुकेको छ। अहिलेसम्म कोसेवाली पनि दाना नै लागेको छैन।’ यहाँका किसान हिउँदे खेतीमा गहुँ, जौ, केराउ मुसुरो लगायतका बाली लगाउने गर्छन्।

आकाशे पानीको भरमा खेती गरिने जिल्लाको अधिकांश क्षेत्रमा पानी नपरेपछि सबैजसो बाली सुक्न थालेका छन्। जिल्लामा ११ हजार ४३० हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएकोमा ६ हजार ३२० हेक्टर जमिनमा मात्रै मात्रै सिँचाइको सुविधा छ।

सिँचाइको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँ बाली समेत छर्न पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुक्न थालेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

हिउँदे बालीको बीउ छरेको १५/२० दिनभित्रमा पानी परे सुरुदेखि बाली राम्रो देखिन्छ । पुससम्म पानी नपरे हिउँदे खेती बिग्रने सम्भावना हुन्छ। फागुनको पहिलो हप्ता बितिसक्दा समेत  पानी परेको छैन। आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था रहेकोले उब्जनी खासै नहुने मालिका २ का हेमबहादुर शिर्पालीले बताए।कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लामा गत वर्ष १५ हजार ४ सय ७ मेट्रिक टन गहुँ उत्पादन भएकामा यो वर्ष भने समयमै पानी नपरेका कारण  गहुँ उत्पादनमा कमी आउने अनुमान छ।

सिँचाइ सुविधा नभएका ठाउँमा कतिपय कृषकले गहुँबाली समेत लगाउन नपाएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन्। लामो समयसम्म पानी नपर्दा र सिँचाइ सुविधा पनि  नभएको क्षेत्रमा हिउँदे बाली सुक्न थालेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए।

थाहाखबर