नेकपा एमालेकी सचिव पद्मा अर्यालले सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुने बताउनुभएको छ । नेकपा एमालेबाट निर्वाचित र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न म्याग्दी आउनुभएकी नेकपा एमाले गण्डकी प्रदेशकी इन्चार्ज अर्यालले सत्ता गठबन्धनबाट राष्ट्रपति नभए गठबन्धन नै तोडिने समेत बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएकी नेतृ अर्यालले गठबन्धनबाटै राष्ट्रपति बनाउने सहमति तोडिए अहिलेको समीकरण नै तोडिने बताउनुभयो । उहाँले राष्ट्रपतिको सहमति तोडिएमा धेरै सहमतिहरु तोडिने बताउनुभयो । ‘सत्ता गठबन्धन तोडिएपछिको क्षती प्रधानमन्त्रीले राम्रोसँग बुझ्नुभएको छ,‘अहिले नेकपा माओवादीले नै गठबन्धन तोड्न सक्ने अवस्था छैन्’ अर्यालले भन्नुभयो । सञ्चारमाध्यम र बाहिर आएजस्तो अहिले सत्ता गठबन्धनभित्र कुनै समस्या नभएको दाबी समेत गर्नुभयो ।

‘अहिलेको गठबन्धनबाट राष्ट्रपति नबनेमा धेरै गुम्ने अवस्था छ,‘विकल्पका बारेमा छलफल हुन्छ, गठबन्धनभित्रबाटै सबै समस्याको समाधान हुन्छ’ अर्यालले भन्नुभयो । गठबन्धन बाहिरबाट राष्ट्रपतिको उम्मेदवार खोजेमा नेकपा एमालेले अर्को पासा पाल्ने समेत ठोकुवा गर्नुभयो । गठबन्धनभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएको समेत बताउनुभयो ।

भविष्यमा हुने दुर्घटना रोक्नका लागि नेकपा एमालेले रोजेको ब्यक्तिलाई नै राष्ट्रपति बनाउने सम्भावना बढी रहेको समेत उहाँको भनाई छ । २७ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल पूरा हुँदैछ । २५ फागुनमा नयाँ राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ ।

Leave a Reply