म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्मा ‘मदिरा सेवन र बिक्री वितरणसँगै जुवातास खेल्न रोक’ लगाइएको छ। स्थानीय मगरदाङ आमा समूहले गाउँभेलामार्फत सामाजिक नीति नियम तयार गरेर लागू गरेका हुन्।

समाजमा भएका विकृति विसङ्गतिलाई हटाउँदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ गाउँमा मदिरा सेवन र बिक्री वितरण तथा जुवातास खेल्न रोक लगाइएको आमा समूहका अध्यक्ष राजमति बुढाले बताइन्। ‘युवा कुलतमा फस्दा  सिङ्गो समाजलाईनै प्रभावित बन्ने गरेको छ, सार्वजनिक स्थानमा मदिरा सेवन र बेचबिखन गर्नेलाई जरिवानै तोकेका छौँ’, अध्यक्ष बुढाले भनिन्।

महिलालाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसङ्गतिको अन्त्यको लागि सक्रिय समूहले समाजमा जुवातास खेल्न तथा मदिराजन्य पदार्थको सेवन गर्न निषेध गरेको आमा समूहले जनाएको छ। गाउँभरिका पसलमा सिसा, बियर तथा रक्सीका कुनैपनि सामग्री लिएर बेचविखन गर्न नपाइने नियम बनाइएको अध्यक्ष बुढाले जानकारी दिए।

समाजलाई सभ्य बनाउन र विकृति नियन्त्रण गर्न समूहले चालेको अभियानलाई सार्थक बनाउनुपर्ने  निर्वतमान वडाध्यक्ष समेत रहेकी स्थानीय अगुवा पिपला बुढाले बताइन्। उनले समाज परिवर्तन र रुपान्तरण सबैको साझा दायित्व भएकाले आमा समूहले सञ्चालन गरेको अभियानमा सबैले साथ दिनुपर्ने बताइन्।

आमा समूहले मदिरा लगायतका मध्यपानको हानि र असरको बारेमासमेत टोल र बस्तीस्तरमा सचेतना अभियान सञ्चालन गर्न सुरु गरेको छ। घरघरमा पुगेर मध्यपान र जुवातासमा लगाइएको निषेधको बारेमा जानकारी गराउने र अटेर गर्नेलाई जरिवाना सहितको कारबाही गरिनेबारेमा सचेतना जगाउन थालिएको आमा समूहकी सचिव  स्थानीय शिक्षिका सुनिता पुनले बताइन्।

उनका अनुसार कसैले नियमविपरीत कार्य गर्ने गराउने तथा रक्सी खाएर समाजमा हो–हल्ला, झै–झगडा तथा अशान्ति फैलाउने गरेमा पहिलो पटक पाँच हजार, दोस्रो पटक १० हजार र तेस्रो पटकमा १५ हजार जरिवाना गर्ने र प्रहरी प्रशासनलाई जिम्मा लगाउने नियम बनाइएको छ। रासस

Leave a Reply