म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी प्राविधिक शिक्षालयमा सञ्चालित सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान सीपका साथै विद्यार्थीले पशुपक्षीपालन र तरकारी खेती गरेर आम्दानी गरेका हुन् ।

बाली र पशु विज्ञान विषयका डिप्लोमा तहको पठनपाठन सञ्चालन गरेको शिक्षालयका प्रमुख करन कँडेलले सिक्दै र कमाउँदै कार्यक्रम प्रभावकारी बनेको बताए । “विद्यार्थीलाई सैद्धान्तिकका साथै व्यवहारिक हिसाबले खेती र पशुपालनमा सहभागी गराउँदा सिक्न सहज भएको छ,” उनले भने “प्रयोगात्मक अभ्यासका लागि गरेको पशुपक्षीपालन र तरकारी खेतीबाट आम्दानी पनि गरेका छन् ।”

पशु र बालीविज्ञान विषय पढ्ने विद्यार्थीले आलु, बन्दा, काउली, च्याउ खेतीका साथै हाँस, कुखुरा, बाख्रा, खरायो र बङ्गुर पालेका छन् । एक सयभन्दा बढी विद्यार्थीले सामूहिक रुपमा तरकारी र पशुपक्षीपालन गरेका हुन् । स्थानीय जातको कुखुरापालनबाट खर्च कटाएर रु ४० हजार आम्दानी भएको किसानी माविको सिक्दै कमाउँदै कार्यक्रमका संयोजक सामेल पाण्डेले बताए ।

प्रयोगात्मक अभ्यासका लागि मौसमी र बेमौसमी तरकारी विद्यार्थीले आफै उपयोग गर्न पाएका छन् । उत्पादन भएको तरकारी, पशुपक्षी बिक्री वितरणको काम विद्यार्थी आफैले गर्छन् । बिम गाउँका साथै दरवाङ र बेनीसम्म तरकारी, खसी, बङ्गुर, कुखुरा र हाँस बिक्री हुने गरेको छ ।

गोठ र खेतबारीमा प्रयोगात्मक अभ्यास गर्दा शिक्षकले पढाएको सिक्न र बुझ्न तथा सम्झन सजिलो हुने विद्यार्थी सन्ध्या सुवेदीले बताइन् । १५ रोपनीमा आलु रोपेका विद्यार्थीले हाल केन्य र गोब्रे जातको च्याउ उत्पादन गरेका छन् । विद्यालयले बीउ, मल र विषादीको व्यवस्थापन गरेको छ । तरकारी र पशुपक्षी बिक्रीको आम्दानी खर्च कटाएर विद्यार्थीले बाँड्ने गरेका छन् ।

तरकारी खेती र पशुपक्षीपालनका लागि विद्यालयलाई युवा स्वरोजगार कोषले रु पाँच लाख उपलब्ध गराएको थियो । यसवर्ष गण्डकी प्रदेशको सामाजिक तथा स्वास्थ्य मन्त्रालयले रु पाँच लाख विनियोजन गरेको छ । रासस

Leave a Reply