विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको चेकजाँच नगर्दा आँखामा प्रत्यक्ष असर गरिरहेको बक्ताहरुको भनाई थियो ।

अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनलले जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गदैं प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले आँखा कमजोर भएका व्यक्तिहरुले नियमितरुपमा आफ्नो आँखाको जाँच गर्नुपर्ने बताउनुभयो ।उहाँले आखाँको समस्यालाई सरकारी निकायबाट हरेक विद्यालयमा चेकजाँचको ब्यवस्था हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला समवन्य समितिका प्रमुख राजकुमार थापाले सचतेनामुलक कार्यक्रमहरूमार्फत विद्यार्थीको दृष्टि जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहरबजार देखि ग्रामिण क्षेत्रसम्म आँखाको चेकजाँचमा बेवास्ता गर्ने गरिएको बताउनुभयो ।

किवानिस इन्टरनेशनका ड्रिष्टिक गर्भनर भरतप्रसाद ढुंगेलले आखाँको रोगबाट मानिसहरुको मृत्यु नहुने भएकोले यो रोग कसैको प्राथमिकतामा नपरेको बताउनुभयो । म्याग्दीको सामुदायिक तथा संस्थागत विद्यालयमा सञ्चालन गरिएको शिविरमा आँखा चेकजाँचमा दृष्टि दोषको समस्या अधिक पाइएको बताउनुभयो ।

उहाँले कोठाभित्र बसेर विद्युतीय उपकरणको प्रयोग, खानपानमा हेल्चेक्राई,खेलकुद तथा नियमित शाररीक अभ्यासमा कम हुनुका साथै आधुनिक अत्यधिक मात्रामा विद्युतीय उपकरणको प्रयोगले बालबालिकाको आँखामा समस्या देखिएकाले अबका दिनमा विद्यालयस्तरमै नियमित चेकजाँच गर्ने र थप उपचारका लागि तत्कालै चिकित्सकसँग परार्मशको आवश्यकता रहेको बताउनुभयो ।

विद्युतीय उपकरणमा बालबालिकाको लत बस्नु भनेको आँखाको दृष्टि गुमाउने जोखिम बढ्नु भएको उहाँको भनाई थियो । संस्थामार्फत गलेश्वर मावि, राष्ट्रिय मावि घतान,गलेश्वर आर्दश मावि,जडभरत आमावि,बेनी सामुदायि मावि, बेनी आवासीय मावि, बालमन्दिर आमावि कालिपुल, बुद्ध एकेडेमी र सरस्वती आमावि बगरफाँटमा शिविर सञ्चालन गरिएको थियो । विद्यालयका विद्यार्थी, शिक्षक गरी २२ सय जना र सर्वसाधारण २२३ जनाको चेकजाँच गरिएको थियो ।विद्यालयमा आयोजित शिविरमा चेकजाँच गर्दा ७ देखि ९ प्रतिशत विद्यार्थीमा दृष्टि दोषको समस्या देखिएको थियो ।

उक्त शिविरमै २ सय चस्मा वितरण गरिएको थियो भने थप समस्या भएकालाई सचेनामुलक कार्यक्रमको अवसरमा बुधबार नै वितरण गरिएको संस्थाका गण्डकी प्रदेश अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो । सचेतनामुलक कार्यक्रममा बेनी सामुदायिक मावि, बेनी आवासीय मावि, बुद्ध एकेडेमी र बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । बेनी नगरपालिकाभित्रका शिक्षक र थप विद्यालयमा समेत निकट भविस्यमा शिविर सञ्चालन गरिने जनाइएको छ । कार्यक्रमको सञ्चालन संस्थाका इलेक्ट प्रेसिडेन्ट राजकुमार न्यौपानलेले सञ्चालन गर्नुभएको थियो ।

 

 

Leave a Reply