नेपाली समाजमा राजकुमारीबारे जबरजस्त एउटा भाष्य स्थापित छ कि उनीहरुको जीवन त कथा, चलचित्र र नाटकहरुमा जस्तै बिलासी र लोभलाग्दो हुन्छ । अक्सर राजकुमारीहरु दरवार, महलमा बस्छन्, सुख सयलमा रमाउँछन् पनि। तर, नामले राजकुमारी भए पनि गरिबी र नियतिको भूमरीमा परेकी बेनी नगरपालिका–७,मंगलाघाट बजार नजिकै रहेको एउटा बंगुर फार्ममा रहेकी राजकुमारीको दुखान्त कथा जोडिएको छ ।

कठिनाइपूर्ण यात्राले गरिबीको चित्र रेखा लिपिबद्ध गर्छ भन्ने उदाहरण समेत राजकुमारी बनेकी छन् । गरिबीको मुक्तिका लागि राजकुमारीले कयौँ सङ्घर्ष गरिन् । बंगुर फार्म बसेर आफ्नै कोखबाट जन्म लिएकी छोरीलाई हुर्काउँदैछिन् ।

आफ्नो भोक, प्यास, निन्द्रा, सबै बिर्सेर छोरीको शिक्षादीक्षाका लागि पसिना बगाएकी छन् तर, पनि राजकुमारीले गरिबीबाट छुटकारा पाएकी छैनन् । श्रीमानले छोडेपछिको करिब १० बर्ष उनले गरेका संघर्षको यात्रा निकै डरलाग्दो र कल्पना समेत गर्न सकिने अवस्थाको छैन्। बंगुर फार्मका मालिकले समेत समयमै न्यूनतम तलव, खानाका लागि गरेको प्रतिबद्धता बिर्सिएपछि कयौं रात भोकभोकै विताएकी छन् ।

आफ्नै काखमा सुत्ने छोरीलाई समेत उनले पेटभरी खुवाउन पाएकी छैनन् । हावा आउँदा न हावा छेक्ने न त वर्षामा पानी नै छेकिने टहरालाई दिनरात विताएकी राजकुमारीले बेनी नगरपालिका–२,बगरफाँटििस्थत सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरी पुष्पाको शिक्षादीक्षामा कुनै समस्या हुन नदिन सक्ने संघर्ष गरेकी छन् ।

विद्यालयकै उत्कृष्ट विद्यार्थीभित्र पर्ने पुष्पा जेहन्दार,अध्ययनशील र अनुशासित भएपनि बंगुरको खोरमा ठाउँमा पढ्ने उचित वातावरण नै छैन् । भविस्यमा डाक्टर बन्ने सपना बोकेर बंगुरको खोरमा फँक्रिएकी पुष्पा आमासँग पैसा नभएपछि विद्यालयमा जान समेत नसक्ने भएकी छन्। भविष्यमा डाक्टर बन्छु भन्दा उनको अनुहारमा खुसीको चमक देखिने पुष्पालाई सहयोगको आवश्यकता छ । राजकुमारीको कमाईले हातमुख जोड्नै मुस्किल हुने भएकाले छोरीको शिक्षादीक्षामा समेत सहयोगी हातको आवश्यकता छ ।

साँच्चै नेपालीहरू जहाँ हुन्छन् उनीहरू मानवीयताको सवालमा भने आत्मीय लाग्छन् त्यसैले त अभावको जिन्दगी जिउनेहरूको लागि सहयोग वास्तविक मलहम बनेको छ । म्याग्दीमा धेरै गरिबीको चपेटामा परेकाहरुलाई सहयोगबाटै नयाँ जिवन पाएका दर्जनौ छन् । यही मलहमको प्रतीक्षामा राजकुमारी र चिकित्सक बन्ने सपना बुनेर पुष्पाले पढाइमा मेहनत गरेकी छन्। पुष्पाको शैक्षिक भविस्यको शुभकामना । बेनी साप्ताहिक समाचारपत्रबाट साभार

Leave a Reply