नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको आयोजनामा आज (शनिवार) बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।
‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ भन्ने नारासहित मंगला गाउँपालिकाको वैठक तथा मिसन ग्रासरुट र पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान–२०७९ को विषयमा अभिमुखीकरण गरिएको एमाले मंगला गाउँपालिका कमिटीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको चुनौतीको रुपमा रहेको दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्यका लागि मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो।
पूर्व सांसद समेत रहनुभएका एमाले केन्द्रीय सदस्य गौचनले मिसन ग्रासरुट अभियानको माध्यमबाट नेता, कार्यकर्तालाई पार्टी र विभिन्न विषयहरुको बारेमा तल्लो तहसम्म पुगेर प्रशिक्षण दिइने बताउनुभयो । उहाँले पार्टी प्रशिक्षणको माध्यमले अवसरवादमुक्त बनाउन ग्रासरुट अभियानको रुपमा सञ्चालन गरिएको भन्दै पार्टीको विधि र विधानभन्दा बाहिर गएर काम गर्नेलाई पहिलो चरणमा शिक्षा दिइने र नसुध्रिएको खण्डमा पार्टीमार्फत अन्य विकल्पहरु अपनाइने बताउनुभएको थियो ।
सोही कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले सिट सङ्ख्याको हिसाबमा नेकपा एमाले अलिकति सानो भए पनि जनमतको हिसाबले देशको पहिलो पार्टी भएको बताउनुभयो । उहाँले ग्रासरुट अभियानमार्फत जनताको घरदैलोमा पुगेर एमालेले सरकारमा रहँदा गरेका राम्रा कामहरुको प्रचारप्रसार गरिने र सङ्गठन सुदृढीकरण तथा विस्तारलाई जोड दिइने जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य देवबहादुर घले, एमाले जिल्ला उपसचिव राजकुमार थापा र सचिवालय सदस्य एवं प्रदेश (ख) समन्वय कमिटी संयोजक खरमाया बिटालुको विशेष उपस्थिति रहेको थियो ।
एमाले मंगला गाउँपालिका कमिटी अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षता र सचिव चिरञ्जीवी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपसचिव चक्रलाल पाण्डेले स्वागत गर्नुभएको थियो । उक्त वैठकद्वारा दुई महिनाको अवधिमा पालिकाभरी पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तारसम्बन्धी विषयमा आवश्यक कार्ययोजना निर्माण गरिएको छ । कार्यक्रममा पालिकाभित्र एमाले वडा कमिटीका अध्यक्षहरु र अगुवा नेता तथा कार्यकताहरु लगायतको सहभागिता रहेको थियो ।