नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी प्रदेश कमिटीले उक्त अभियान सबै निर्वाचन क्षेत्रमा एकसाथ सुरु गरेको हो ।

आईतवार बेनीमा सम्पन्न पार्टीको जिल्ला समन्वय समितिको बैठकले ६ वटा स्थानीय तहको पालिका स्तरको कार्यक्रमको लागि कार्यतालिका समेत तयार गरेको छ । बैठकले फागुन १८ गते बेनी नगरपालिका, १९ गते धवलागिरी गाउँपालिका, २० गते रघुगंगा र मालिका गाउँपालिका र २४ गते अन्नपूर्ण र मंगला गाउँपालिकामा कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

सहिद सप्ताहको अवसरमा सुरु भएको उक्त अभियान आगामी वैशाख १४ गतेसम्म जिल्लामा रहेका प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा हुँदै टोल र वस्ती स्तरमा सञ्चालन हुनेछ । अभियानको आइतवार बेनीमा (नेकपा माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य यशोदा सुवेदीले दुई महिने अभियानले पार्टीलाई थप गतिशिल र संगठीत बनाउँदै जनतामुखी पार्टीको रुपमा स्थापित गर्ने बताउनुभयो ।

उहाँले पालिका र वडा तह हुँदे वस्ती स्तरमा पार्टी स्कुलीङ कार्यक्रम लैजान र जनताका समस्या र गुनासाहरुको टिपोट र पार्टी तहमा रिपोर्ट गरि जनताका समस्या समाधानमा पार्टी अभियानलाई प्रभाबकारी बनाउन आग्रह गर्नुभयो । ‘‘चुनाबमा मात्रै नेताहरु गाउँ पस्ने होइन, त्यसको अन्त्यका लागि पार्टीले दुई महिने अभियान नै चलाएको हो, नेताहरु हरेक समयमा जनतातर्फ केन्द्रित हुनुपर्छ, उनीहरुका गुनासा र समस्या सम्बोधनमा लाग्नुपर्छ भन्ने  नै यो कार्यक्रमको सन्देश हो’’–उहाँले भन्नुभयो ।

कार्यक्रमा पार्टी केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेलले अभियानको क्रममा पार्टी र जनवर्गीय संगठनहरुको गठन र पुर्नगठन कार्यक्रमसंगै सदस्यता नविकरणको कामलाई समेत संगसंगै अगाडी लैजाने बताउनुभयो । उहाँले अभियानलाई जनताका समस्यालाई पार्टीको नेतृत्वमा हल खोज्नेतर्फ केन्द्रित गर्नुको साथै नेतृत्वमा विचार र संगठनलाई सुदृढीकरणमा समेत जोड्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला संयोजक तथा गण्डकी प्रदेशका उद्योग , पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली (सुविन)ले जिल्लाको ४५ वटै वडामा अभियानलाई प्रभाबकारी बनाउन जिल्ला समन्वय समिति, पालिका र वडा समिति संगै जनवर्गीय संगठनलाई आग्रह गर्नुभयो । उक्त अभियानको क्रममा सहिद, घाईते, वेपत्ता परिवारसंग समेत भेटघाट र छलफल गर्ने योजना रहेको संयोजक जुग्जालीले बताउनुभयो ।

कार्यक्रममा पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले यो अभियानले नेताहरु जनतातिर फर्किने वातावरणको सिर्जना गर्ने र पार्टीलाई थप क्रियाशिल बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार, गण्डकीका ३६ प्रदेश निर्वाचन क्षेत्रमा पार्टीको बैठक, भेला, संगठन र जनवर्गीय संगठनहरु, मोर्चा लगायतको आबश्यकता अनुसार पुर्नगठन र गठन लगायतका कार्यक्रमहरु समेत हुनेछन् ।

कार्यक्रममा पार्टीका गण्डकी प्रदेश समितिका सहसचिब टेकबहादुर विश्वकर्मा र सचिबालय सदस्य विनोद केसीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा र पार्टीको संगठनको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो भने बेनी नगरसमितिका सचिब ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply