म्याग्दीका युवा आफ्नै परिवारको सक्रियतामा स्वरोजगार बन्न थालेका छन्। सिमलचौरका अशोक शर्मा, रत्नेचौरका हरिबहादुर खत्री र घुमाउनेतालका हरिबहादुर चन्दले स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्नुभएको हो। मङ्गला गाउँपालिका–२, सिमलचौरका खगराज पौडेल र डिलकुमारी पौडेलका सन्तान अशोक र जीवन शर्माले २०७२ फागुनदेखि आफ्नै व्यवसाय केडी कटेज सुरु गर्नुभयो। करिब १० लाख रुपियाँ लगानीमा सुरु गरिएको यो व्यवसायमा अहिले डेढ करोड रुपियाँभन्दा बढी लगानी भइसकेको छ।

करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको कटेजको कम्पाउन्डभित्र रहेको माछापोखरीमा उत्पादित माछाका परिकारका साथै आफैँले उत्पादन गरेको अर्गानिक उत्पादनबाट तयार भएको खानेकुरा पाहुनाका लागि आकर्षक बन्ने गरेका छन्।  स्नातक तह उत्तीर्ण एवं तालिमप्राप्त कुक भाइ जीवन र व्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तीर्ण दाजु अशोकसहित अन्य छ जना स्वरोजगारसमेत बन्नुभएको छ। डिग्री पास गरेको छोराले बैङ्कमा जागिर खाए हुने भन्ने चाहना थियो अभिभावकको तर आफ्नै परिवार मिलेर गरेको व्यवसाय आर्थिक आयआर्जनका लागि राम्रै भएको र सन्तुष्टि मिलेको उहाँका बुवा खगराजले बताउनुभयो।

बेनी नगरपालिका–१, कुनै समय स्याल र चितुवाको बासस्थान थियो। यो स्थानमा अहिले पर्यटकको चहलपहल बढेको छ। तल्लो रत्नेचौरमा भारतीय सेनाबाट सेवानिवृत्त हुनुभएका वीरबहादुर र करिब १२ वर्षपछि वैदेशिक रोजगारीबाट फर्किनुभएका उहाँका भाइ हरिबहादुर खत्रीले चिता हाउस सञ्चालनमा ल्याउनुभएको छ।

चिता हाउसले अहिले रत्नेचौर क्षेत्रमा आउने पर्यटकका लागि सुविधासहितको खाने र बस्ने व्यवस्था गरेको छ। व्यवस्थापनको मुख्य काम खत्री दाजुभाइले गर्नुभएको छ। तीन जना कुक र छ जना सहयोगी गरी ११ जनाले चिता हाउसबाट प्रत्यक्ष रोजगारी पाउनुभएको छ। सुरुमा ४० लाख रुपियाँको लागतमा भौतिक पूर्वाधार तयार गरी २०७७ साल कात्तिक २६ गतेबाट सञ्चालन गरिएको चिता हाउसमा हाल झन्डै दुई करोड रुपियाँ लगानी पुगेको छ।

नयाँ पुस्ताले एकान्त साथै सेवासुविधा खोज्ने भएकाले यस क्षेत्रमा आफूहरूले व्यवसायको स्थान पहिचान गरेको उहाँहरूले बताउनुभयो। २०५६ सालदेखि वैदेशिक रोजगारीमा पुगेर २०७३ मा नेपाल फर्किएपछि रघुगङ्गा गाउँपालिका–२, घुमाउनेतालमा हरिबहादुर चन्दले कालीगण्डकी रिसोर्ट एन्ड एचबीसी स्विमिङ पुल प्रालि सञ्चालन गर्नुभएको छ। सो कम्पनीमा चन्दकी श्रीमती, भाइ र छोरासहित ११ जनाले रोजगारी पाएका छन्।

Leave a Reply