राम प्रसाद घिमिरे
बढ्दो सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाकालागि बागलुङ प्रहरीले रचनात्मक अभियान सुरु गरेको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको समस्या समाधान गर्न र बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालकसँग ‘एक मिनेट’ अभियान सञ्चालन गरेको हो ।
जिल्लाबाट दैनिक रुपामा बाहिरिने र भित्रिने सवारीसाधनहरुलाई सडकमै रोकेर चालक र सह-चालकलाई एक मिनेट ट्राफिक नियम सम्बन्धि ज्ञान हस्तान्तरण अभियान स्वरुप चालक सँग एक मिनेट अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मीन बहादुर खड्काले बताउनुभयो ।
“सवारी चालक र सह-चालकलाई ट्राफिक जानकार दिन एक मिनेट प्रशिक्षण दिने अभियान सुरु गरेका छौं” प्रमुख खड्काले भन्नुभयो “विषेशगरि सार्वजनिक सवारीमा यात्रा गर्दा चालक र सह-चालकले इमानदारीपूर्वक नियमको पालना गरेमा धेरै दुर्घटना न्यूनीकरण हुन्छ, त्यसैले यो अभियान निरन्तर रुपमा अगाडि बढाउने गरि सुरु गरेका छौं” ।
चालक सँग एक मिनेट अभियान अन्तर्गत चालकले मापसे गरि सवारी साधन चलाए नचलाएको, सवारी साधनमा अश्लील शब्द प्रयोग भए नभएको, अपाङ्ग, अशक्त, वृद्ध महिलाको आरक्षण सिट कायम भए नभएको अनुगमन समेत गरी लागु गर्ने अभियान रहेको प्रमुख खड्काले बताउनुभयो ।
खड्काका अनुसार अभियानमा चालक, सहचालकको यात्रुसँगको व्यवहार अनुगमन गर्ने, सवारी साधनमा सरसफाई, सिटको अवस्था निरिक्षण, गाडीको साउण्ड प्रदुषणले यात्रुहरूलाई कुनै समस्या पारे नपारेको, बाल मजदुर प्रयोग भए नभएको लगायतको अनुगमन तथा कारवाही गरिनेछ ।
यो अभियानले चालक तथा यात्रु दुवैलाई सहज हुने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो । “सार्वजनिक यातायात सबैका लागि हो त्यसैले यसमा नियमको पालना जरुरी हुन्छ ।
उपरीक्षक योगेन्द्र कुमार खड्काले भन्नुभयो “कसैले आफ्नो अधिकारी प्रयोग गर्दै गर्दा कसैको अधिकार हनन भएको छ कि छैन भन्ने ख्याल गर्नु जरुरी हुन्छ, यसको लागि सबैभन्दा बढि जिम्मेवारी चालक र सह-चालकको हुन्छ त्यसकारण यो चालक सँग एक मिनेट अभियानले नियमको पालनामा सहजता ल्याउने विश्वास लिएका छौं” । मानवीय त्रुटिका कारण दिनानुदिन सडक दुर्घटना बढिरहेको अवस्थालाई न्यूनीकरण गर्न ट्राफिक नियम सम्बन्धि यस्ता खालका चेतनामूलक अभियानले सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

Leave a Reply