नेपालको संविधानले धारा४२ सामाजिक न्यायको हक अन्तरगत अपाङ्ता भएका व्यक्तिहरुको सामाजिक न्यायको सवाललाई उल्लेख गरेको छ । तर संविधानले तोके अनुसारको सामाजिक न्याय आफूहरुमाथि नभएको अपाङ्ता भएकाहरुले सधै गुनासो गर्ने गरेका छन् ।

उक्त धाराको उपधार ३ मा “अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ” भनिएको छ ।तर अपाङ्ता भएकै कारण पाइलै पिच्छे विभेदपूर्ण व्यवहार सामना गर्नुपरेको हरेक कार्यक्रममा अपाङ्ता भएकाहरूले गुनासो पोख्ने गरेका छन्।

चुनावमा भोट हाल्ने वा अन्य विभिन्न समयमा हुने सार्वजनिक कार्यक्रममा जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिले अपाङ्ता भएकाहरुप्रति आफूको दायित्वबोध भएको बताउने गरेपनि अपाङ्कता भएकाहरु सधै समस्यामै देखिन्छन् ।

धेरै उदाहरणमध्येका एक हुन् बेनी नगरपालिका–४, खलखले बस्ने पूर्ण दृष्टिविहिन जीतबहादुर कार्की । आवतजावत गर्न सहारा दिने सेतो छडी र सानो झोला भिरेका ७० बर्षिय जीत बहादुर दैनिक हातमुख जोड्न साढे २ घण्टा पैदलयात्रामार्फत तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीसँग सहयोग जुटाउँछन् । दैनिक मागेर हातमुख जोड्ने गरेका ।जीतबहादुरको प्रायः दैनिकी सहयोग माग्ने बनेको छ ।

रोजगारीको क्रममा भारतमा पुगेका जीतबहादुरले २२ बर्षको उमेरमा दुवै आँखा गुमाएको वर्षाे वितिसकेको छ । तर पनि उनलाई दुःख, कष्टले पछ्याउन छोडेको छैन् । सुकुम्बासी जीवन विताइरहेका जीतबहादुर स्थानीय ब्यवसायी हिरा कुँवरको घरको पूरानो घरमा बस्दै आएका छन् ।

सेतो छडीकोसाहरामा करिब २ किलोमिटर पैदलयात्रा गरी तातोपानी बजार पुग्छन्। कच्ची र कालोपत्रे सडकको जोखिमपूर्ण पदैलयात्रा गरी प्राकृतिक उपचार केन्द्रको रुपमा चिनिएको तातोपान्ी कुण्डमा स्नान गर्न आउने बिरामी, स्थानीयबासीले दिएको सहयोग लिएर बासस्थानमा फर्किन झण्डै २ घण्टा लाग्छ ।

जीतबहादुर जस्ता यो समाजमा धेरै छन् । हरेक बस्तीमा भेटिने जीतबहादुर जस्ता सबै अपाङ्ता भएकालाई राज्यका निकायबाट कुनै सहयोग हुन सकेको छैन् । सामाजिक सुरक्षा भत्ता बाहेक अन्य सुविधामा सरकारी निकायबाट प्राप्त नहुदाँ दैनिकी निकै कष्टकर बनेको हो । अपांग संरक्षण तथा कल्याण ऐन २०३९ ले अपांग र उसको सहयोगी समेतलाई प्रोत्साहनमा जोड दिएको छ । कानुनको कार्यान्वयन पक्ष फितलो हुदाँ दृष्टिबिहीनहरुलाई धेरै समस्या छ ।

अपाङ्गताको हितको लागि धेरै नीति बनेपनि कार्यान्वयनसँगै अपाङ्ता भएकाहरुको अवस्था हेरेर क्षमता अनुसारको सिप अपाङ्गता भएकालाई आधारभुत आवश्यकता अन्तरगत गास, बास र कपास र आत्मनिर्भर बनाउन तर्फ सरकारले ध्यान दिन आवश्यक छ । अर्कोतर्फ सर्वसाधारणले पनि दृष्टिविहिन सहित अपाङ्ता भएकाहरू आवतजावत गर्ने मार्ग, सहयोग गर्न सक्ने अन्य विभिन्न क्षेत्रमा समेत साथ र सहयोग दिनुपर्छ । बेनी साप्ताहिक समाचारपत्र

Leave a Reply