---Advertisement---

संख्या घटाउन बेनीमा ९४ वटा कुकुरको बन्ध्याकरण

On: March 1, 2023 7:16 PM
Follow Us:

सडकका कुकुरको संख्या घटाउने उद्देश्यले म्याग्दीको सदरमुकाम बेनीमा सडक तथा सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक सहयोग केन्द्रिय रिफरल पुश चिकित्सालयले उपलब्ध गराएको थियो । शिविरमार्फत ३१ वटा सामुदायिक र ६३ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । पशु अधिकार ऐन अन्तरगत कुकुर मार्न पाईदैन् ।

बच्चा जन्माउने प्रक्रियालाई रोक्दा संख्या कम हुने भएकाले एक दिनको शिविरमार्फत सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको सूचना अधिकारी सुबेदीले बताए । सामुदायिक कुकुरको संख्या बृद्धि नियन्त्रण गर्नका लागि शिविरले सहयोग पुग्ने केन्द्रका पशु चिकित्सक जीवनप्रसाद आचार्यले बताए ।

कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको कार्यालय प्रमुख आचार्यको भनाई छ । सडकमा हिड्ने पैदलयात्री, मोटरसाईकल सवारलाई कुकुर आतंकले सताएपछि संख्या घटाउन रेविज रोगलाई फैलन नदिन २०७७ सालमा पनि शिविर संचालन गरिएको थियो ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले बजार क्षेत्रमा कुकुरको ब्यवस्थापन र संख्या बृद्धि रोक्नका लागि शिविरले सहयोग पुग्ने बताए । केन्द्रिय रिफरल पशु चिकित्सालयका पुश डाक्टर टंकप्रसाद प्रसाई, डाक्टर अर्जुन अर्याल र डाक्टर विकास गिरी सहित ८ जनाको टोलीले कुकुरको बन्ध्याकरण गर्नुभएको थियो । सामुदायिक कुकुर बोक्ने एम्वुलेन्स पनि शिविरमा उपलब्ध थियो ।