सामाजिक सञ्जाल र मोवाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न म्याग्दीका बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिले आग्रह गरेका छन् । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन इन्स्टल गरेपछि प्रयोगकर्ताकोमोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने र बैंक खाताको रकम गुम्ने घटना देशभरी घटेपछि कारोबार गर्न आउने ग्राहकलाई समेत जानकारी सहित अपिल गर्ने गरिएको हो ।

फेसबुक,ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत् एपको लिङ्क पठाउने र इन्स्टल गरेपछि विभिन्न नगद सुविधाको प्रलोभन देखाएर खाताबाट रकम निकाल्ने सम्मको जोखिम बढेको एक बैंकरले बताए । प्रयोगकर्ताले लिङ्क खोल्नसाथ मोबाइलमा एप डाउनलोड भएर मोबाइलमा रहेका विवरणहरु समेत चोरी हुने गरेको छ ।

पछिल्लो समय किम्बी नामको एप्लिकेशनको प्रयोग गरेमा विभिन्न चरणमा नगद अफर देखाउने गरिएको छ । यो एप्लिकेशनको प्रयोगकर्तालाई सुरुवातमा ८० रुपैयाँ दिने र विभिन्न चरणमा खाता नम्बर मागेर पैसा निकाल्ने गरेको बताइन्छ। यो एप्लिकेशनको प्रयोगकर्ताको निशानामा नेपाली समेत परेपछि अहिले बैंकले समेत आन्तरिक सर्कुलर सहित ग्राहकलाई सचेत बनाएको छ।

बैंक तथा वालेटहरुमा पहुँच बनाएर पैसा चोर्ने गिरोहले यो एप्लिकेशनबाट सामान्य वित्तिय जानकारी समेत नभएका नेपालीलाई फसाउन सक्ने भएकाले आफ्नो खाता वा अन्य विवरणहरु नदिन समेत अनुरोध गरिएको छ । एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिएपछि प्रहरीले समेत सार्वजनिक अपिल गरेको थियो ।

Leave a Reply