उत्तरी म्याग्दी र मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नतिको काम भैरहेको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि अहिले दैनिक साढे छ घण्टा सडक बन्द गरिएको हो ।

सडकखण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन हिँजो (सोमबार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको वैठकमा बेनी–गलेश्वर खण्डमा यातायात सञ्चालन गर्न र बन्द हुने समयतालिका बनाइएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला समन्वय समितिको वैठक बसेर स्तरोन्नतिका लागि सडक बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, स्थानीय जनप्रतिनिधि, बेनी–जोमसोम–कोरला सडक योजनाका प्रतिनिधि, सुरक्षा निकाय, निर्माण कम्पनी, यातायात व्यवसायीलगायत सहभागी वैठकमा दैनिक साढे छ घण्टा बन्द गरी सडक स्तरोन्नतिको काम गरिने निर्णय भएको थियो ।

उक्त वैठकको निर्णयअनुसार आजदेखि आउँदो ३० गतेसम्म (१५ दिन) पुनः दैनिक रुपमा बिहान ६ बजेदेखि ८, दिउँसो ११ः ३० देखि १ः ३० र राती ८ः ३० देखि ११ बजेसम्म गाडी आवतजावत बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने निर्णय भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।

यसैगरी दकमल, एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनलाई भने आवश्यक सहजीकरण गरी आवतजावतको व्यवस्था मिलाउने समेत निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिको काम र यातायात सञ्चालन सँगसँगै हुँदा सम्भावित दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुलाई सास्ती र निर्माणकार्य पनि प्रभावित भएपछि समयतालिका बनाएर लागू गरिएको हो ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले २ किलोमिटर १ सय २ मिटर दुरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न जय–धनञ्जय–मंगलादेवी–सुवास जेभीसँग १२ करोड ७५ लाख ९४ हजार चारसय २६ रुपैयाँमा ठेक्का सम्झौता गरेको जनाएको छ ।

निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले सम्झौतापछि अहिले दैनिक रुपमा सडक स्तरोन्नतिको काम भैरहेको बताउनुभयो । आगामी दुई वर्षभित्र सडकमा १० मिटरसहित नाली निर्माण गर्ने, भू–क्षय तथा पहिरो नियन्त्रणका लागि पर्खाल लगाउने र खोल्सामा कल्र्भट बनाउने तथा ८ मिटरको सडकमा कालोपत्रे गरिनेछ । हाल सडक स्तरोन्नतिको काममा दैनिक ८ वटा डोजर तथा १ सय ७० जना मजदुरहरु परिचालन गरिएको छ ।

बेनीदेखि गलेश्वरसम्म ३ किलोमिटर दुरीको यो खण्डले बेनी नगरपालिकाको ६, ८ र ९ नम्बर वडाको भूगोललाई जोड्छ । बेनी–गलेश्वर खण्ड म्याग्दीको रघुगंगा, अन्नपूर्ण भएर मुस्ताङ र प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेकाले उत्तरी म्याग्दी र मुस्ताङवासी, तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणले प्रयोग गर्ने गर्दछन् ।

Leave a Reply