चैत–वैशाखमा फुल्नुपर्ने लालीगुराँस म्याग्दीको जङ्गलमा माघ महिनादेखि फुलेर फागुन आइपुग्दा राताम्मे भएको छ ।लालीगुराँस समयभन्दा अगाडि नै फुले पनि हिउँद घर्कीसक्दासम्म अझै हिमपात भएको छैन ।गत आइतबार सामान्य वर्षा भए पनि माटो भिज्नेगरी हिउँदे वर्षासमेत नहुँदा हिउँदे खाद्यान्न उत्पादन घट्ने भयले किसान चिन्तित छन् ।

मौसममा आएको परिवर्तनले लालीगुराँस दुई महिना अगाडि नै फुलेको स्थानीयवासी बताउँछन् । धवलागिरि गाउँपालिकाका झकबहादुर छन्त्याल चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँसमा माघमै कोपिला लागेर मध्यफागुनसम्म आइपुग्दा जङ्गलै राताम्ये हुनेगरी ढकमक्क फुलिसकेको बताउनुहुन्छ । चैत दोस्रो हप्ता लालीगुराँस फुलेर जङ्गल राताम्मे हुनुपर्नेमा फागुन महिनामै फुलेर सबैलाई अचम्मित बनाएको छ ।

अघिल्लो वर्ष चैत–वैशाख महिनामा मात्र लालीगुराँस फुल्ने गर्दथ्यो । यसवर्ष हिउँदमा हिमपात नभएर वर्षा कम भए पनि लालीगुराँस भने राम्रोसँग फुलेको हो । पश्चिमी म्याग्दीको मालिका, मङ्गला, धवलागिरि र उत्तरी म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिकाका विभिन्न जङ्गलमा लालीगुराँस फुलेर राताम्यै भएको स्थानीयवासीको भनाइ छ ।

लालीगुराँस फुलेसँगै जङ्गल रातै देखिन थालेपछि स्थानीयवासी रमाउन थालेका छन् । कृषि प्राविधिक जगत बानियाँ मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि भएकाले पनि लालीगुराँस चाँडो फुलेको हुनसक्ने बताउनुहुन्छ । उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा चैत दोस्रोदेखि वैशाख महिनासम्म लालीगुराँस फुल्ने समय हो ।
यसको बारेमा थप अध्ययन गर्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

लालीगुराँससँगै रमाउन बढ्नथाले पर्यटक

यसवर्ष साविकभन्दा पहिले नै लालीगुराँस फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यसवर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐंँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ ।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरू हुने लालीगुराँस यसवर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । यसैगरी जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका छन् । बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनामा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको वातावरणविद्हरुको भनाइ छ ।

“लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ”, बेनी नगरपालिका–२ ज्यामरुककोटका वेदप्रसाद उपाध्याय बताउनुहुन्छ । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेका र अन्नबालीमा समेत यसको असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विक बताउनुहुन्छ । “अहिले बेमौसममै काफल, तिदुलगायत जङ्ली फल पाकेको र गुराँस फुलेको देख्न पाइएको छ ।” वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वाभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।

विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएको उहाँ बताउनुहुन्छ। रासस

Leave a Reply