म्याग्दीमा सडकमा जीवन जिउन बाध्य बेसहारा तथा परिवारका सदस्य नहुदाँ अलपत्र अवस्थामा रहेका मनोरोगीहरुलाई पुनःस्थापना गर्ने अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।

सामाजिका विकास कार्यालय म्याग्दी र मानव सेवा आश्रम बागलुङको सयुक्त आयोजनामा जिसस सभाहलमा सडक मानव ब्यवस्थापन र उद्वार सम्वन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गदैं गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले सडक मानवरहित बनाउने अभियानमा प्रदेश सरकारले समेत साथ दिएको बताए ।

सडकमा जीवन बिताउन बाध्य भएकाहरुलाई औषधोपचारसहित उचित ब्यवस्थापनका लागि मानव सेवा आश्रमसँग सहकार्य गरी आश्रममा लगेर स्याहारसुसार गरिएका अभियानलाई आफ्नोतर्फबाट सक्ने सहयोग हुने बताए । ‘सबैका लागि राज्य छ, अझै आफ्ना नभएकालाई राज्यले उचित ब्यवस्थापन गर्नु आवश्यक छ’ सांसद भण्डारीले भने ।

सोही अवसरमा जिसस प्रमुख राजकुमार थापाले जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गरिवि, अशक्तता, विपद्, कुरिति आदीका कारणले सडकमा पुगेका मानिसहरुको व्यवस्थापनको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । त्यस्तै बेनी नगरपालिकाका मेयर सुरत केसीले मानवीय सेवाका काममा मानसेवा आश्रमलाई सहयोग गरी सहकार्य गरेको बताए ।

उनले म्याग्दीमा अलपत्र अवस्थामा रहेकालाई विभिन्न माध्यमबाट उद्धार गरिएको बताउँदै आश्रमलाई सहज सञ्चालनमा सहज हुने गरी रु ११ लाख विनियोजन गरिएको बताए । अलपत्र अवस्थामा रहेकालाई उद्धारमा भइरहेको प्रयासले मानवसेवाको गरिमा बढाएको मेयर केसीको भनाई थियो ।

मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले सडक पेटी र सार्वजनिक स्थलमा रहेका मानव उद्वार र ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिकाबारे जानकारी गराएका थिए । उनले सात प्रदेशका १९ जिल्लामा २३ वटा मानव सेवा आश्रमको शाखा संचालन गरी सडक मानव ब्यवस्थापन र उद्वार गरिएको बताए ।

मानव सेवा आश्रमले बेसहारा, असक्त, असहाय, अनाथ र अभिभावकविहिन, मानसिक तथा शारिरिक रुपमा कमजोर र सडक आश्रित मानवको उद्वार गरेर औषधोपचार र पालपोषण गर्दै आएको बताए ।मानवसेवा आश्रम सरकारको अनुदान, परोपकारी संस्थाको सहयोग, मुठ्ठी दान, ब्यक्तिहरुको विभिन्न उत्सवको अवसरमा नगद, जिन्सि सहयोगबाट आश्रम संचालन भएको छ ।

मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष अधिकारीको अध्यक्षता, मानव सेवा आश्रम बागलुङकी अभिभावक सरिता गौमको स्वागत र सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाको संचालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिसस उपप्रमुख दिलुकुमारी खत्री, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा र अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन लगायत विभिन्न आमासमूह, विद्यार्थी लगायतको उपस्थित थियो । बागलुङमा रहेको मानव सेवा आश्रममा हाल ५५ जना आश्रित छन्।

Leave a Reply