म्याग्दीमा फागुपूर्णिमाको दिन इच्छा विपरीत रंग लगाउने, फोहोर पानी, अण्डा र लोला हानेमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कारबाही गर्ने भएको छ । होली पर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । फागुन २२ गते पर्ने होलीमा स्वीकृतिविना कुनैपनि कार्य भएमा प्रहरीले तत्कालै नियन्त्रणमा लिएर कानुनी कारवाही गर्ने प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

‘जवरजस्ती रङ दल्ने र लोला हान्ने गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ, पर्वलाई शान्त र मर्यादित बनाउन अनुरोध गर्दछौ’ प्रनाउ कुँवरले भन्नुभयो । बेनी नगरपालिका सहित पालिकामा रहेको इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र पोष्टहरूमा कार्यरत प्रहरीलाई समेत होली लक्षित योजनाका बारेमा जानकारी गराइएको छ ।

होलीको दिनमा सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने, भिडभाड हुने स्थानमा साधा पोशाकमा समेत प्रहरीलाई परिचालन गर्ने लगायतका योजना रहेको छ । यस्ता विकृतिका कारण लोला लागेर कानको जाली फुट्ने,घाइते हुने भएको र लोला हान्दा ज्यानै जान सक्ने भएकाले यस्ता कार्यमा संलग्न हुनेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने प्रहरीले जनाएको छ ।

बेनीबजार सहित विभिन्न स्थानमा होली विशेष कार्यक्रमहरु रहेको छ । उक्त दिन ट्राफिक प्रहरीले समेत मापसे गरी सवारीसाधन चलाउने सम्भावनालाई मध्यनजर गरी चेकजाँचलाई समेत कडाई गर्ने जनाएको छ । शनिबार प्रहरीले सूचना जारी गरी मर्यादित र शान्तिपूर्ण रुपमा होली मनाउन आग्रह समेत गरेको छ ।

Leave a Reply