राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् ।

तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरुमार्फत समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरु गर्दै आएका छन् । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दुरीमा रहेको बगरफाँट गाउँका युवाहरुले खेलकुदको माध्यमद्धारा गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने अभियान थालेका हुन् । युवाहरुकै अगुवाई र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र १ सय मिटर लम्वाइको विशाल खेल मैदान निर्माण भएको छ ।

करिब रु १० लाखको लागतमा निर्माण भएको सो खेल मैदानमा आगामी चैत्र २८ गतेदेखि रु १ लाख पुरस्कार रासीको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको रिभरसाइड युवा क्लव बगरफाँटका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो । फुटबल प्रतियोगिताका लागि यहाँका युवाहरु एक महिना अघिदेखि नै तयारीमा जुटेका छन् ।

फुटबल प्रतियोगितामा करिव रु ८ लाख खर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष थापाको भनाइरहेको छ । “अहिले हामी खेल मैदानको स्तरोन्नति गर्ने र आर्थिक श्रोत जुटाउने अभियानमा छौं,सबैतिरबाट हामीलाई राम्रो सहयोग प्राप्त भैरहेको छ” अध्यक्ष थापाले भन्नुभयो “खेलकुदको माध्यमद्धारा हामीले समाजलाई संगठित बनाउने र देश विदेशमा चिनाउने लक्ष्य लिएका छौं ।”

गाउँका भाइहरुको उत्साहा र उनीहरुको कृयाकलाप देखेर÷सुनेर आफूलाई निकै खुसी लागेको र उनीहरुले आयोजना गरेको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिताको सफलताका लागि आफूले सक्दो सहयोग गर्ने हाल जापानमा रहनुभएका बगरफाँटका युवा सागर कार्कीले बताउनुभयो ।

“हामीलाई विदेशमा रहनुभएका अग्रज दाइहरु र साथीहरुबाट आवश्यक सहयोग र मार्गदर्शन प्राप्त भइरहेको छ,उहाँहरुको साथ र सहयोगले नै हामीका केही गरौं भन्ने भावना विकसित भएको हो” रिभरसाइड युवा क्लवका सल्लाहाकार एवम् बगरफाँटका सक्रिय युवा नारायण थापाले बताउनुभयो । बगरफाँट खेलाडीहरुको गाउँ पनि हो । यहाँका युवाहरु जिल्ला र प्रदेश स्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानित हुदै आएका छन् ।

गत माघ दोस्रोे साता पोखरामा सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा यहाँको रिभर साइड क्लवले प्रथम र द्धितीय स्थान प्राप्त गर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको थियो । अविनास तामाङ प्रसिडेन्ट दोस्रो केआइईसी पोखरा फुटसल टुर्नामेण्टमा रिभरसाइड बगरफाँट युवा क्लवले प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो ।

पोखरा र पोखरा बाहिरका गरी २२ टिम सहभागि प्रतियोगितामा रिभर साइड बगरफाँट युवा क्लव प्रथम हुँदै रु १ लाख पुरस्कार प्राप्त गरेको सचिन कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी पोखरास्थित भद्रकाली एफसी पोखराले आयोजना गरेको पहिलो भद्रकाली ओपन फुटसल प्रतियोगितामा द्धितीय स्थान प्राप्त गर्न सफल भएको थियो । विभिन्न २४ टिम सहभागि उक्त प्रतियोगितामा दोस्रो भएको क्लवले रु ५० हजार नगद सहित पुरस्कार प्राप्त गरेको हो ।

त्यसैगरी जिल्ला स्तरमा हुने कुनै पनि प्रतियोगिताहरुबाट कहिल्यै पनि रित्तो हात फर्किन नपरेको क्लवका सचिव कार्कीले बताउनुभयो । पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भै खेलकुदका साथै अन्य सामाजिक र जनचेतनामूलक कामहरुमा लागेका छन् ।

यहाँका युवाहरुले कोरोना कालमा घरघरमा पुगेर औषधी,मास्क,स्यानिटाइजर लगाएतका सामाग्रीहरु वितरण गर्नेदेखि लिएर अस्पताल सम्म लगेर उपचार गराएर ल्याउने समेत गरेका स्थानीयले बताएका छन् । समाजमा कुनै अप्रिय घटना घट्दा होओस् वा कसैलाई सहयोगको आवश्यकता पर्दा,विवाह ब्रतब्रन्धजस्ता मांगलिक कार्यहरु गर्दा होओस् वा दैवि विपत्ति र प्राकृतिक प्रकोपजस्ता घटनाहरु आइपर्दा यहाँका युवाहरुले नै अगुवाइ गर्ने गरेको स्थानीय पाका व्यक्तिहरुको भनाइरहेको छ ।

चैत अन्तिम साता आयोजना हुन लागेको प्रथम रिभरसाइड फुटबल प्रतियोगिता गाउँको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता पनि भएकोले समाजका हरेक व्यक्तिहरुलाई आवश्यक सहयोग र सरसल्लाहाका लागि यहाँका युवाहरुले आग्रह गरेका छन् ।

Leave a Reply