म्याग्दीमा फागु पूर्णिमाको दिन जबरजस्ती रङ, फोहोर पानी, अण्डा र लोला हानेमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कारबाही गर्ने भएको छ। होली पर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ ।  होलीमा स्वीकृतिविना कुनैपनि कार्य भएमा प्रहरीले तत्कालै नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए।

‘जबरजस्ती रङ दल्ने र लोला हान्ने गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ, पर्वलाई शान्त र मर्यादित बनाउन अनुरोध गर्दछौ’ प्रहरी नायव उपरीक्षक कुँवरले भने । उनले होलीको दिनमा सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने, भिडभाड हुने स्थानमा साधा पोसाकमा समेत प्रहरीलाई परिचालन गर्ने लगायतका योजना रहेको बताए । बेनी नगरपालिका सहित पालिकामा रहेको इलाका प्रहरी कार्यालय,  प्रहरी चौकी र पोस्टहरूमा कार्यरत प्रहरीलाई समेत होली लक्षित योजनाका बारेमा जानकारी गराइएको छ।

बेनी बजार सहित विभिन्न स्थानमा होली विशेष कार्यक्रमहरु  रहेको छ । उक्त दिन ट्राफिक प्रहरीले समेत मापसे गरी सवारीसाधन चलाउने सम्भावनालाई मध्यनजर गरी चेकजाँचलाई समेत कडाई गर्ने जनाएको छ। शनिबार प्रहरीले सूचना जारी गरी मर्यादित र शान्तिपूर्ण रुपमा होली मनाउन आग्रह समेत गरेको छ।

Leave a Reply