पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले जन्मगाउँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,दानाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ४० लाख सहयोग गर्नुभएको छ । सोमबार जन्मगाउँमा पुग्नुभएको पूर्जाले शिक्षा, स्वास्थ्य सहित गाउँको साझा समस्यामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सामुदायिक विद्यालयहरुले शिक्षण र सिकाइ उपलब्धिमा सुधानमा सघाउने गरी ४० लाखको कोष बनाउनुभएको ज्ञानप्रकाश माविका प्लस टू संयोजक बाबुराम पौडेलले बताउनुभयो ।

पर्वतारोही पूर्जाले एकमुष्ठ जम्मा भएको ४० लाखबाट ब्याजबाट आउने रकमले ज्ञानप्रकाश माविमा अध्ययनरत कक्षा ८, एसइई र कक्षा १२ मा सवोत्कृष्ट हुने विद्यार्थीलाई नगद ५० हजार, ८० हजार र १ लाख पुरस्कारले सम्मान गरिने छ भने बाँकी दानाका अन्य विद्यालयमा निजी स्रोतका शिक्षकको तलबसुविधामा सहयोग गरिने ज्ञानप्रकाश माविका प्रधानध्यापक शान्तबहादुर नेपालीले बताउनुभयो ।

‘यो सहयोग शैक्षिक सुधारका लागि कोशेढुंगा सावित हुनेछ,‘शैक्षिक क्षेत्रमा थप सहयोगको प्रतिबद्धता समेत प्राप्त भएको छ’ प्रअ नेपालीले भन्नुभयो । उक्त सहयोग घोषणाको अवसरमा वडा अध्यक्ष रमेश पूर्जा लगायतका स्थानीय अगुवाहरुको समेत उपस्थिती रहेको थियो । पर्वतारोहणको क्षेत्रमा कुनैपनि बेला जे पनि हुनसक्ने भएकाले उक्त सहयोग परिचालन तथा थप आवश्यकता परेमा आरोही पूर्जाले सहोदर दाई गंगाबहादुर पूर्जा र कमलबहादुर पूर्जालाई समन्वयकर्ताको जिम्मेबारी समेत दिइएको छ ।

८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानीको टोलीलाई लिएर आउनुभएका पूर्जाले सोमबार दानामा बस्नुभएको थियो । इलाईट टेकीङ कम्पनी मार्फत कतारी टोलीलाई लिएर मंगलबार अन्नपूर्ण हिमालतर्फ जाने तयारी भइरहेको छ। विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व रेकर्ड सहित अन्य विभिन्न किर्तिमानीपछि पहिलोपटक जन्मभूमी दानामा पुग्दा स्थानीयबासीले भब्य स्वागत गरेका थिए ।

Leave a Reply