बेनी नगरपालिका–४, तातोपानी कुण्डमा स्नान गर्न बार्षिक हजारौं आउँछन् । ठूला तथा महङ्गो अस्पतालमा प्याथोलोजी र आयुर्वेदिक उपचार पद्धतिबाट समेत रोक निको नभएपछि आजित भएर कुण्डमा आउने विरामीहरु उत्साहित भएर फर्किने गरेको पाइन्छ । महिलामा पुरुषको तुलनामा धेरै रोग देखिने भएकाले तातोपानी कुण्ड रोग पखाल्ने ठाउँ भएको छ ।

 

पुरुष र महिलालाई फरक– फरक समय तालिका रहेको कुण्डमा गम्भीर दुर्घटनामा परेर अस्पतालमा बसेका विरामी चिकित्सकले डिस्र्चाज गरेपछि एक महिनासम्म स्नान गर्ने गरेको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताउनुहुन्छ । रुदै कुण्डमा आएका बिरामी नाच्दै फर्किएका धेरै दृष्य शाक्यले देख्नुभएको छ । यसै विषयमा बेनी अनलाइनले अध्यक्ष शाक्यसँग गरेको छोटो कुराकानी ।

पोखरीबाट प्राकृतिक उपचार केन्द्र कसरी बनाउनुभयो त ?
२०२४ साल स्थानीयबासी प्रेमप्रसाद गौचन, टुंगलाल शर्मा, दुतबहादुर खत्री, सुर्यमान शाक्यको अगुवाईमा भैसी बस्ने जस्तै पोखरी बनाईयो । स्थानीयबासीले तातोपानीको रुपमा प्रयोग गर्ने,जाडो समयमा स्नान गर्न थाले ।२०४२ सालमा समिति बनाएर मुलको संरक्षण सुरु गरियो ।

स्थानीय प्रबुद्ध मान शाक्यको अगुवाईमा कुण्डमा विस्तारै पूर्वाधार विस्तारका साथै प्रचारप्रसार सुरू गरिएको थियो ।विस्तारै कुण्डबाट आम्दानी हुन थालेपछि भौतिक पूर्वाधार विस्तार सहितका योजना मार्फत कुण्डमा आवश्यक संरचना बनाइएको छ । कोरोना भाइरसका कारण करिब दुईबर्ष समस्या भयो । भ्रमणमा आउने र जेष्ठ नागरिकले निशुल्क स्नानको ब्यवस्था गरिएको छ ।

कुण्डमा ८० बर्ष माथिका विरामी, अपाङ्ता भएकालाई बिना शुल्क स्नानको ब्यवस्था मिलाइएको छ । अपाङमैत्री भएकाले पनि अपाङ्ता भएकाहरु नियमित स्नान गर्न आउने गरेका छन् । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रममा निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने तातातोपानीले नेपालभरीका विभिन्न रोगका बिरामीलाई आर्कषित गरेको छ ।

गन्धक आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नानगर्दा एक व्यक्तिमाभएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने भएपनि गर्मी मौसममा माक्स र आवश्यक सतर्कता अपनाउने गरिएको छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामीको चाप धेरै छ । बार्षिक २६ हजारले स्नान गर्ने गरेका छन् ।

तातोपानी कुण्डमा कहाँबाट धेरै विरामी आउँछन् ?
सबैभन्दा धेरै विरामी बागलुङ जिल्लाका छन् । बागलुङबाट करिब ६० प्रतिशतको हाराहारीमा बिरामीले स्नान गर्ने गरेका छन् । त्यसुबाहेक बर्षेनी धेरै विरामी आउँछन् हरेक घरधुरीबाट विरामी आएजस्तो लाग्छ । हिमाली जिल्लाबाट चिसोले विभिन्न रोग लागेपछि उपचारका लागि आउने विरामीको संख्या पनि धेरै छ । नेपाल बाहेक भारतको सिक्किमबाट आउँछन् । विदेशी पर्यटकलाई लक्षित गरी नयाँ स्नान गृह बनाउने तयारी भइरहेको छ । कुण्डमा घुम्न आउनेको संख्या अत्याधिक छ। भ्रमणका लागि समेत कुण्ड रोजाईमा पर्न थालेको छ ।

घुम्न आउनेहरुको तथ्याङ्क राख्नुभएको छैन ?
विगतमा घुम्न आउनेहरुको तथ्याङ्क टिकट लिए मात्रै हुन्छ । अहिले घुम्न आउनेहरुको समेत नाम, जिल्ला तथा संख्याको विवरणलाई समेत राख्ने गरिएको छ। समुहमा संख्या राखिन्छ । चन्दा सहित सहयोग गरेमा विवरण समेत राखिन्छ । म्याग्दी जिल्लामा भ्रमणका लागि आउने म्याग्देलीको संख्या ह्वात्तै बढ्नुमा तातोपानी कुण्ड पनि एउटा प्रमुख माध्यन बनेको छ । विभिन्न जिल्लामा रहेका तातोपानी कुण्डको ब्यवस्थापन, सञ्चालनका साथै सामुदायिक संघसंस्था, विद्यालय, कलेज, सहकारी लगाएतबाट समुहमै कुण्डको अवलोकन गर्न आउँछन् । म्याग्दी जिल्लालाई भ्रमण बर्ष बनाउने तयारी भइरहेको अवस्थामा २०७५ सालमा भ्रमणका लागि अत्याधिक संख्यामा आउने अनुमान गरिएको छ । यसबर्ष भ्रमणका लागि आउनेको संख्या यकिन हुन्छ ।

कुण्डको आम्दानी कहाँ खर्च हुन्छ ?
कुण्डमा चारजनाले रोजगारी पाएका छन् । स्थानीय सरस्वती माविका निमावी र माविका ७ जना शिक्षकको तलवमा बर्षेनी १२ लाखभन्दा बढी खर्च हुन्छ । विद्यालयमा हरेकबर्ष भौतिक पूर्वाधारमा समेत सहयोग गरिन्छ । गाउँमा रहेको स्वास्थ्यचौकीको जग्गा, प्रहरी चौकी स्थापनाका लागि आवश्यक पर्ने जग्गा खरिद, कुण्डभित्रका पूर्वाधार, म्याग्दी खोलाको नदी कटान नियन्त्रण, ढल ब्यवस्थापन, स्थानीयस्तरमा आवश्यक पर्ने विभिन्न सामाजिक कार्यमा समेत सहयोग गरिन्छ । यूवा क्लवको खेलमैदान देखी विभिन्न संरचना बनाउन खर्च गरिन्छ । बेनी नगरपालिकाले समेत बार्षिक आम्दानीको २० प्रतिशत दिन्छौ ।

 

 

 

Leave a Reply