म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ । पाँच वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाएसंगै जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छ । वल्ड वाइड मालीका भगवती जेभीले विसं २०७४ मंसिर २७ गते १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी भ्याट बाहेक रु एक करोड ९० लाखमा स्वास्थ्यचौकी भवन निर्माण गर्ने ठेक्का सम्झौता गरेको थियो ।

भवन निर्माण कार्य सम्पन्न भएपछि स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडा अध्यक्ष अमर छन्त्याल र स्वास्थ्यचौकी प्रमुख जगदेवी छन्त्याललाई भवन हस्तान्तरण गरिएको छ । नवनिर्मित दुई तलाको १३ कोठे भवनमा बिरामीको उपचारका लागि शैया, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था छ । भवनको रङगरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबार लगायतका काम सम्पन्न भएपछि नवनिर्मित भवनबाटै स्वास्थ्यचौकीको सेवा प्रवाह गर्ने तयारी गरिएको छ ।

निर्माणधिन भवन परिसरमा निर्माण गर्न थालिएको खेलमैदानदेखि गएको पहिरोले स्वास्थ्यचौकी भवन जोखिममा परेपछि पक्की पर्खाल र ग्याविन जाली लगाएर संरक्षणको काम गरिएको छ ।यस स्वास्थ्य चौकीबाट करिब दुई सय ५० घरधुरीले स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् । वडा नम्बर ५ को मल्कबाङसंगै मलम्पार र भेडीखाल्टाका स्थानीयबासीले यस स्वास्थ्यचौकीबाट उपचार सेवा लिने गर्छन् । सोही अवसरमा ठेकेदार विजय भठ्ठचन सहितको टोलीलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply