उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा  लैङ्गिक हिंसा तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)सम्बन्धी विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नारासहित ११३औं अन्तर्राष्ट्रिय नारी दिवस–२०७९ को अवसरमा कार्यक्रम गरिएको हो ।

ओसिएमसी बेनी अस्पतालको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र राम्चेको वडा कार्यालयको समन्वय तथा मिलन म्याग्दीको व्यवस्थापनमा कार्यक्रम गरिएको आयोजकले जनाएको छ । नारी दिवसको अवसर पारेर लैङ्गिक हिंसा र ओसिएमसीको विषयमा अभिमुखीकरण तथा लागूपदार्थ दुव्र्यसनी विरुद्धको सचेतीकरण कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमको बारेमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले समुदायस्तरमा हुने विभिन्न प्रकारका हिंसाको सबै मिलेर न्युनीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले हिंसामा परेको जुनसुकै पीडितलाई पनि उद्धार तथा सहयोग गर्नुपर्ने बताउँदै लागूपदार्थ दुव्र्यसनी तथा गलत क्रियाकलापबाट बच्नका लागि समुदायका सरोकारवालाहरु लाग्नुपर्नेमा जोड दिनुभयो । राम्चेका वडा अध्यक्ष खमबहादुर गर्बुजाले ग्रामीण भेगमा हुने लैङ्गिक हिंसा तथा लागूपदार्थ दुव्र्यसनीलगायत गलत क्रियाकलाप रोक्न वडा कार्यालयले आवश्यक पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा लागूपदार्थ दुव्र्यसनी र यसले मानव स्वास्थ्यमा पार्ने असरहरु, ओसिएमसीबाट उपलब्ध सेवासुविधाहरु, अन्तर्राष्ट्रिय नारी दिवसको इतिहास, उपलब्धि र चुनौतीहरु, महिला दिवसको नारा तथा सञ्चारमाध्यमबाट हुने हिंसालगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

कार्यक्रमको बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत एवं ओसिएमसीका प्रमुख डाक्टर बिराज आचार्य, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्मा, मिलन म्याग्दीका सहसचिव एवं क्रियाशील पत्रकार प्रताप बानियाँ र सुआहारा कार्यक्रमका पोषण विज्ञ बालकुमारी पुनले सहजीकरण गर्नुभएको थियो ।

राम्चेका वडाध्यक्ष गर्बुजाको अध्यक्षता, वडा सचिव बोनिका गर्बुजा र ओसिएमसीका फोकलपर्सन पबिना पूर्जाको सञ्चालनमा सम्पन्न कार्यक्रमको मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले स्वागतसहित उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । सोही कार्यक्रमको अवसरमा अन्नपूर्ण गाउँपालिकाले सुरु गरेको ‘हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम’मार्फत आमा र बच्चाको लागि पोषणयुक्त खानेकुरा सर्वोत्तम पीठो र लोकल घ्यु तथा न्यानो कपडा समेत वितरण गरिएको थियो ।

यसैबीच नारी दिवसकै पूर्वसन्ध्याको अवसर पारेर हिमाञ्चल माध्यमिक विद्यालय नांगीका विद्यार्थीहरुलाई ८ मार्च, लैङ्गिक हिंसा, आत्मरक्षा तथा लागूपदार्थ दुव्र्यसनी, ओसिएमसी र अल्पकालीन सेवा केन्द्रको सेवासुविधासम्बन्धी विषयमा कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष गर्बुजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुन, प्रसनि विश्वकर्मा, मिलन म्याग्दीका कार्यकारी निर्देशक बिटालु, ओसिएमसी फोकलपर्सन पूर्जा तथा अल्पकालीन सेवा केन्द्र प्रमुख साधना केसीले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply