म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कलको ५९औं स्थापना दिवसको अवसरमा जनकल्याण माध्यमिक विद्यालयमा गठित युवा रेडक्रस सर्कलद्वारा कवितालेखन प्रतियोगिता आयोजना गरिएको हो ।

विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यसहित आयोजित कवितालेखन प्रतियोगितामा कुल २४ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सहभागीहरुमध्ये सृजना परियार प्रथम, साधना रामदाम द्वितीय र सावित्री बानियाँ तृतीय भएका छन् । उनीहरुलाई क्रमशः सातसय, पाँचसय र तीनसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको युवा रेडक्रस सर्कल जनकल्याण माविका सह–शिक्षक नायक प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाका सभापति एवं रेडक्रस म्याग्दी शाखाका उपकोषाध्यक्ष शिव बानियाँ र विशिष्ट अतिथि एवं जनकल्याण मावि पुलाचौरका प्रधानाध्यापक कमलप्रसाद पौडेलले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रम युरेस जनकल्याण माविका अध्यक्ष प्रज्ञा बानियाँको अध्यक्षता, उपाध्यक्ष साधना रामदामको स्वागत र सचिव प्रसन्न पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply