जिल्ला भलिबल संघ म्याग्दीका सचिव कुमार किसानको फेसबुक म्यासेन्जरबाट जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीलाई समस्या परेकाले सहयोग गर्न अनुरोध सहित म्यासेज आयो । किसानक म्यासेन्जरबाट माग भएअनुसारको विवरण पठाउँदा केसीको फेसबुक ह्याक भयो ।

कुमार र दिनेशको फेसबुकमा रहेका साथीहरूलाई समस्यामा परेकाले जतिसक्दो नगद सहयोग गर्न आग्रह सहितको म्यासेज आउन थाल्यो ।

म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका बरिष्ठ प्रबन्धक सदन कँडेल र श्रीमती सुनिता शर्मा कँडेलको फेसबुक ‘ह्याक’ गर्ने र पासवर्ड चोरी गरी आफूँ समस्यामा परेको भनेर फेसबुकमा जोडिएका साथीहरुलाई म्यासेन्जरमार्फत म्यासेज पठाउँदै रकम पठाइदिनु भन्दै नक्कली म्यासेज पठाएको पाइयो ।

बुधबार म्याग्दी तथा आसपासका क्षेत्रमा ४० भन्दा बढीलाई रकम पठाइदिनु भन्दै नक्कली म्यासेज पठाएर ठगीको प्रयास भएको पाइएको छ । ‘मेरो लाइसेन्सको फारम भर्न लागेको मेरोमा कोर्ड नै आएन तपाईको राखिदिन्छु कोड दिनु ल’ भन्दै म्यासेज पठाएर कोर्ड पठाएपछि ह्याक गरेको पीडितले बताएका छन् ।

‘मेरो आईड ह्याक गरेर पैसा मागिरहेको पाइयो,‘मेरो आफन्त र साथीहरूलाई पैसा मागेको पाएपछि भाईमार्फत फेसबुक ह्याक भएको सामाजिक संजालमा लेख्न लगाए’ खेलकुद विकास समितिका अध्यक्ष केसीले भने । उनले आफन्तबाट करिब ५ हजार मागिसकेको अवस्थामा बुझ्दा भुक्तानी सेवा प्रदायक खल्ती र आइपिएस गरेको भेटिएको बताए ।

म्याग्दी र पर्वतको जलजला गाउँपालिका आसपासका करिब ९ जनाको फेसबुक ह्याक गरेर रकम मागेको पाइएको छ। ह्याक भएको आइडीबाट समस्या परेको भन्दै पैसा माग्ने गरेको गुनासो आएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

‘ह्याक भएको प्रयोगकर्तालाई विवरण सहित उजुरी दिन अनुरोध गर्दछु, पैसा मागेमा तत्कालै पठाउने वा कोर्ड दिनुहुन्न’ प्रनाउ कुँवरले भने ।  उनका अनुसार ह्याकरले ह्याक गरेको आइडीवालासँग पुरानो संवादको आधारमा छोटो कुराकानी गरी रकम माग गर्ने वा अन्य कुनै प्रस्ताव राख्ने भएकाले सचेत हुनुपर्ने बताए ।

उनले इमोबाट फोन गरेर चिट्ठा परेको भन्दै कर बापतको रकम भनेर बैंक खातामा जम्मा गर्न लगाई ठगी गरेको गुनासो समेत आएको बताए । फोन गरेर चिट्ठाको रकम प्राप्त गर्न पहिले कर बुझाउनुपर्ने भन्दै रकम माग गरेको पीडित समेत आएको बताए । प्रहरीले इमो र फेसबुक ह्याकमा संलग्नलाई कारबाही गरिदिन साइबर ब्यूरोमा जानकारी गराउने बताए ।

Leave a Reply