म्याग्दीमा आज (बुधवार) ११३औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नारासहित महिला दिवस मनाइएको हो ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा पालिकास्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी महिला दिवस मनाइएको पालिकाहरुले जनाएका छन् । दिवसको अवसर पारेर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो पालिकाभित्र २५ वर्षभन्दा लामो समय स्थायी सेवा गरेका स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील महिलाहरुलाई सम्मान गरी ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

सम्मानित हुने महिला स्वास्थ्य स्वयंसेविकाहरुमा गुणकुमारी कार्की, सीता केसी, मनिमा गुरुङ, पवित्रा पूर्जा, हेमकुमारी गर्बुजा, रुपा पुन, कृष्णकुमारी बुढाथोकी, भूकुमारी पूर्जा र सिनियर अनमी मतिश्री गर्बुजा रहनुभएको छ । यसैगरी शिक्षकतर्फ चपदेवी पुन, थममाया पुन, दिलमाया तिलिजा पुन, मैया बरुवाल, बिमलादेवी पुन र मालश्री पूर्जा पुन रहनुभएको छ । उहाँहरुलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन र पत्रकार तथा अधिकारकर्मी सुष्मा पौडेलले अबिरको टिका लगाएर, दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष पुनले पालिकामार्फत ज्येष्ठनागरिकलाई न्यानो कपडा वितरण, हजार दिनका महिलाहरुलाई उपाध्यक्षसँग भेटघाट कार्यक्रम र दिर्घरोगीलाई मासिक रुपमा भत्ता दिने व्यवस्था गरिएको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष दिवा पुनले लामो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा अनवरत रुपमा सेवा प्रदान गर्नुभएका महिलाहरुलाई अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सेवाको कदरस्वरुप सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा पत्रकार तथा अधिकारकर्मी पौडेल र सम्मानित व्यक्तित्व मैया बरुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गाउँपालिका उपाध्यक्ष पुनको अध्यक्षता र महिला तथा बालबालिका शाखा संयोजक सविना थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा अन्नपूर्ण–२, भूरुङ–तातोपानीका वडा सदस्य विष्णु परियारले स्वागत गर्नुभएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व पालिकाको केन्द्र पोखरेबगरमा प्लेकार्डसहित महिला अधिकारसँग सम्बन्धित विभिन्न नारा लगाउँदै बजारमा प्रभातफेरी ¥याली समेत निकालिएको थियो ।

यसैगरी बेनी नगरपालिकाको आयोजनामा पनि सदरमुकाम बेनीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारामा आधारित रहेर कार्यपत्र प्रस्तुत तथा सरोकारवालाबीच अन्तत्र्रिmया कार्यक्रम गरिएको हो । नगर उपप्रमुख ज्योती लामिछानेको अध्यक्षता, नगर प्रमुख सुरत केसीको प्रमुख आतिथ्य र सामाजिक विकास समिति संयोजक एवं बेनपा–९, घतानका वडा अध्यक्ष चक्रबहादुर केसीको स्वागतमा सम्पन्न कार्यक्रमको नगरपालिकाको सहायक महिला विकास निरीक्षक प्रतिमादेवी शर्माले सञ्चालन गर्नुभएको थियो ।

उषा घर्ती घिमिरे र हेमकुमारी पुनले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन कुँबर, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेल र बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ८ बेनीका वडाध्यक्ष रमेशकुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित विभिन्न संघसंस्थाबाट सहभागिता जनाइएको थियो ।

Leave a Reply