म्याग्दीको विकासका लागि ठूला योजनाहरूलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले बताउनुभएको छ ।

कतारको दोहामा जारी अल्पविकसित राष्ट्रहरूको पाँचौं राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन पुग्नुभएका श्रेष्ठले म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले दोहामा स्वागत तथा सम्मान कार्यक्रममा ठूला आयोजना तोकिएकै लागत र समयमा पूरा नभएको कारण समस्या भइरहेकाले रुग्न आयोजना घटाउने पहल र जिल्लामा आवश्यक नयाँ योजनालाई थप गरिने बताउनुभएको हो ।

‘यसपटक हामीले विगतको क्षतीपूर्ती स्वरुप नयाँ योजना थप गर्नुपर्छ,‘सबैको साथ र सहयोगले जिल्लाका प्राथमिकत योजनाहरुलाई प्राथमिकतामा राखेको छु’ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले राष्ट्रिय गौरवका योजनाहरुलाई पूर्णता दिने, जिल्लाका सबै बस्तीमा सडक छिमेकी जिल्लासँग जोडिएका सडक, शिक्षा, स्वास्थ्य सहितका योजनाहरुमा म्याग्दीलाई प्राथमिकता दिनुपर्नेमा सधै जोड दिएको बताउनुभयो ।

सम्मान तथा भेटघाट कार्यक्रममा आयोजित अन्तरक्रियामा विदेशमा नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई एकीकृत र संगठित पार्दै मातृभूमिको हितमा आधिकारिक रूपमा प्रयोग गर्नु मुख्य उद्देश्य भएकाले मोनासँग सहकार्य गरी म्याग्दीको विकास, सामाजिक कार्य र लगानीको क्षेत्रमा सहज वातावरण बनाउने समेत उपाध्यक्ष श्रेष्ठको प्रतिबद्धता थियो ।

कार्यक्रममा मोना कतारले म्याग्दीमा जन्मिएर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भई जिल्लाको विकास निर्माणमा गरेको योगदान र सक्रियताको मुल्याङ्कन गदैं कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

सोही अवसरमा मोना कतारका संरक्षकद्धय प्रेम रसाईली, बिक्रम कार्की, प्रमुख सल्लाहकार तिलु शर्मा पौडेल लगायतले विदेशमा सिकेको कतिपय ज्ञान, सीप र अनुभव पैसाले पनि किन्न नसकिने भएकाले वातावरण मात्रै बनेमा म्याग्दीमा लगानीका लागि सक्रिय हुने बताउनुभएको थियो ।

मोना कतारका अध्यक्ष नरेन्द्र फगामीले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएकालाई लक्षित गरी मोन बहुउदेश्यीय अक्षयकोष दर्ता गरिएको बताउनुभयो । कतारबाट फर्किएका श्रमिकलाई सीप र क्षमतानुसारको पेशामा लगानीको वातावरण बनाउन सरकारी निकायसँग परामर्श, विभिन्न अभिमुखीकरण कार्यक्रम तथा सीपमूलक तालिम सञ्चालन गर्ने उद्देश्यले संस्था स्थापना गरिएको मोना कतारले जनाएको थियो ।

स्वागत तथा सम्मान कार्यक्रमको अध्यक्षता मोना कतारका अध्यक्ष फगामी, स्वागत बरिष्ठ उपाध्यक्ष राजु पौडेल र सञ्चालन महासचिव अजय कुँवरले गर्नुभएको थियो ।

Leave a Reply