म्याग्दीको रघुगंगा गाउँपालिका-२,भगवती आयोजित दुईदिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविरमा साढे दुई सयभन्दा बढी लाभाविन्त भएका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको आयोजना तृप्ति फाउण्डेशन अष्ट्रेलियाको आर्थिक तथा काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा आयोजित शिविरमा गाउँपालिका भित्रका विभिन्न बस्तीबाट आएका २ सय ६६ जना महिलाले सेवा लिएको मोना यूएईका अध्यक्ष सुवास राम्जालीले जानकारी दिनुभयो ।

शिविरमा ३५ जना महिलाको पाठेघरमा समस्या देखिएपछि थप उपचारका लागि रिफर गरिएको छ । काठमाण्डौ क्यान्सर सेन्टर भक्तपुरका डा.किशोर प्रधानको टोलीले महिलालाई पाठेघर र स्तनको सुरक्षा सम्बन्धि सचेतनामुलका कार्यक्रम समेत गरेको मोना आइइसीका सचिव सबोध बरुवालले बताउनुभयो ।

जनचेतनामुलक अभियानको कमी र अशिक्षा र गरिबीका कारण महिलाहरुको संवेदनशील अंगहरु मध्ये स्तन र पाठेघरको समस्या बढ्दो अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ । पाठेघरको मुखमा हुनसक्ने क्यान्सरको समयमै पहिचान गरेमा पाठेघरको समस्या केहि मात्रमा समाधान हुने र हरेक महिलाहरू ३० देखी ६० बर्ष उमेरमा चेकजाँच गर्नुपर्ने डा. प्रधानले बताउनुभयो ।

रघुगंगाको शिविर सम्पन्न भएपछि टोली शुक्रबार र शनिबार अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा हुने शिविरको तयारीमा जुटेको मोना आइइसीका उपाध्यक्ष सुर्जे भट्टचनले जानकारी दिनुभयो ।

महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरुको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको मोनाले जनाएको छ । स्क्रिनिङ शिविर जिल्लाका सबै पालिकाकमा गर्ने योजना रहेको छ ।

Leave a Reply